काठमाडौँ, २१ जेठ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकमा सभासद्हरुले संविधानसभाबाहिर रहेका राजनीतिक दल र सरोकारहरुको पहिचान एवम् वार्ता प्रक्रिया र कार्यविधिसम्बन्धी विषयमा केन्द्रित रहेर भनाइ राख्नुभयो ।
बैठकमा सो समिति मातहत गठन भएको उपसमितिका संयोजक पूर्णबहादुर खड्काले प्रतिवेदनमा सदस्यहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
खासगरी संविधानसभा बाहिर रहेका राजनीतिक दललाई संविधान निर्माणमा कसरी सहभागी गराउने र त्यसका लागि वार्ता र संवाद प्रक्रियाको थालनी के कस्तो ढङ्गले गराउँदा सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्नेबारे उहाँले प्रतिवेदनमा समेटिएका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो ।
संविधानसभाबाहिर रहेका दलहरुसँग दलहरुको पहिचान एवम् वार्ता प्रक्रिया र कार्यविधि तर्जुमाका बारेमा प्रतिवेदन तयार गर्न समितिले पूर्णबहादुर खड्काको संयोजकत्वमा उपसमिति बनाएको थियो ।
वार्ताका क्रममा सुरक्षा संवेदनशीलताको पाटो अत्यन्त महत्वपूर्ण भएकाले कुन राजनीतिक दलसँग कस्तो किसिमको व्यवहार प्रस्तुत गर्ने र वार्ताका लागि कस्तो तौरतरिका अपनाउने भन्ने विषयमा विगतका वार्तामा अपनाइएको सावधानीसहित समितिलाई खड्काले जानकारी गराउनुभएको थियो ।
आजकै बैठकमा संविधानसभाबाट समितिमा पठाइएको राष्ट्रिय हित र न्यायप्रणालीका असहमतिका विषयलाई समेत प्रवेश गराइएको थियो । ती विषयका अन्तरवस्तुका बारेमा शुक्रबार बिहान बस्ने समितिको बैठकमा छलफल गर्नेगरी आजको बैठक स्थगन भयो ।













प्रतिक्रिया