डोल्पा, २० जेठ । यार्सागुम्बुको विषयमा विवाद हुँदा मंगलबार साँझ धो गाविसमा अनुगमन टोली र स्थानीयवासीबीच झडप भएको छ ।
झडपमा परी चार जना सुरक्षाकर्मी, अनुगमन टोलीका एकजना र केही स्थानीय व्यक्ति घाइते भएका छन् । प्रहरीले अनुगमन टोलीमाथि आक्रमण गर्न आउने पाँच जना स्थानीयवासीलाई नियन्त्रणमा लिएको छ । ढुंगामुढा गर्ने स्थानीयवासीलाई सुरक्षा निकायले नियन्त्रण गर्न खोज्दा नियन्त्रण नभएपछि पाँच राउण्ड अश्रुग्यास र १०० राउण्डभन्दा बढी हवाइ फायर गरिएको थियो ।
यार्सागुम्बा सङकलनको अनुगमन गर्न तीन दिनअघि सदरमुकाम दुनैबाट धो गाविसमा सरकारी अनुगमन टोली र सुरक्षाकर्मी त्यसतर्फ गएको थियो ।
मंगलबार बिहान धो तराप समाज र मध्यवर्ती क्षेत्र उपभोक्ता समिति सुरक्षा निकायको सहमतिमा तक्सी तलाङ र धो क्षेत्रको यार्सागुम्बा पाउने पाटनहरूमा सबैले समान रुपमा यार्सा टिप्न पाउने सहमति भएको थियो । सहमतिप्रति असन्तुष्टि जनाउँदै धो ताक्सी र कलाङका स्थानीयवासीले अनुगमन टोली बसिरहेको ज्याम्पा लामाको घरमा अकस्मात ढुंगामुढा गरेपछि झडप भएको थियो ।
आक्रमणकारीहरूले अनुगमन समितिले लगेको रसिदको ठेली र संकलन भएको रकम खोस्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । झडपमा अनुगमनमा गएका मानव हमाल र घरधनी ज्याम्पा लामा गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
गत वर्ष स्थानीयले मात्र यार्सा टिप्न पाउने व्यवस्था भएकामा अहिले बाहिरका मान्छेले पनि टिप्ने व्यवस्था गर्न खोज्दा सो झडप भएको हो ।














प्रतिक्रिया