गणेश पौडेल
पर्वत, २० जेठ । संबिधानसभाका सदस्यले आफूले पाउने रकम अपारदर्शी हिसाबले साना र टुक्रे योजनामा बितरण गर्ने आरोप लाग्दै आएको बेला पर्वतको क्षेत्र न २ बाट निर्वाचित सभासद बिकास लम्सालले सांसद बिकास कोषको सबै रकम क्याम्पसलाई बितरण गर्नुभएको छ।
सभासद लम्सालले पर्वतको क्षेत्र नं २ मा रहेका ७ वटा क्याम्पसलाई संसद बिकास कोषको रकम बितरण गर्नुभएको हो ।
पर्वत बहुमुखी क्याम्पस फलेबासलाई २ लाख रुपैया बितरण गरिएको छ भने अन्नपुर्ण क्याम्पस कार्किनेटा, त्रिभुवन बहुमुखी क्याम्पस शंकरपोखरी, महाशिला बहुमुखी क्याम्पस लुंखु, पैञ्यु बहुमुखी क्याम्पस त्रिबेणी, वहाकी बहुमुखी क्याम्पस वहाकी र जनसेवा संस्कृति बहुमुखी क्याम्पस हुवासलाई १ लाख २५ हजारका दरमा बजेट बिनियोजन गर्नुभएको छ ।
गाउँ गाउँमा खुलेका सामुदायिक क्याम्पसहरु आर्थिक अभाबमा सञ्चालनमा कठिनाई भएको तथ्यलाई बुझेर शिक्षाको बिकास लागि आफ्नो सबै रकम क्याम्पसलाई बिनियोजन गरेको सभासद लम्सालले बताउनुभयो । ‘सांसद बिकास कोषको रकम १०, २० हजार रुपैयाका दरमा बितरण गर्ने परम्परा अन्त्य गरेर सबै जनता लाभान्वित हुने योजनामा खर्च गर्न लागेको हुँ’– उहाँले भन्नुभयो ।
बिगतका समयमा सांसद बिकास कोषको रकम दुरुपयोग भएको र कार्यकर्ता पाल्नका लागि खर्च हुने गरेको आरोप लाग्दै आएको छ । सभासद लम्सालले भने सबै गाउँ बिकास समितिका बासिन्दा लाभान्वित हुने र शिक्षा क्षेत्रको बिकासमा टेवा पुग्ने भएकाले सबै रकम क्याम्पसलाई दिएको बताउनुभयो । ‘म सबै रकम पारदर्शी रुपमा खर्च गर्न चाहन्छु’ उहाँले भन्नुभयो ।














प्रतिक्रिया