काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ । केही समयदेखि चर्किएको नेतृत्व हस्तान्तरणको विवाद करिब करिब फुटको स्थितिमा पुगेको हो ।
अध्यक्ष सूर्यबहादुर थापाले नेतृत्व हस्तान्तरण नगरिकन बरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले चावहिलमा रहेको पार्टी मुख्यालय कब्जामा लिएर आफूले आफैलाई अध्यक्ष घोषणा गरेर काम थालेपछि त्यस्तो अवस्थाको सृजना भएको हो ।
चन्दले आज आफ्ना समर्थकहरु सहित पार्टी कार्यालय पुगेर आफूलाई अध्यक्ष घोषणा गरि चन्दले काम थालेका हुन । चन्दले आगामी असार २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बोलाएका छन् ।
पूर्व सहमति अनुसार अध्यक्ष सूर्यबहादुर थापाको पदावधि सकिए पनि हस्तान्तरण नगरेको कारणले दोस्रो बरियतामा रहेका चन्दले पार्टीलाई नेतृत्वविहीन अवस्थाबाट जोगाउन आफै अध्यक्ष घोषणा गरेर अघि बढेको नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।
यता चन्दले पार्टी कब्जा गरेपनि भावी रणनीति बनाउन सूर्यबहादुर थापा र पशुपति शमसेर राणा पक्षले आन्तरिक छलफल गरिरहेका छन् ।
जेठको पहिलो सातामै अध्यक्ष थापाको पदावधी सकिए पनि विधी र प्रक्रिया अनुसार केन्द्रीय समितिबाट कसलाई नेतृत्व सुम्पिने भन्ने निर्णय हुने बताउँदै आएका छन । तर, चन्द पक्षधरले भने पूर्व सहमति अनुसार एक वर्षपछि आफूहरुमा नेतृत्व आउनु पर्ने अडान ब्यक्त गर्दै आएका छन । उनीहरुका अनुसार थापा पछि चन्द त्यसपछि पशुपति शमसेर र लोहनीको क्रमैसँग एक एक वर्ष नेतृत्वको पालो हुने गरि सहमति भएको थियो ।














प्रतिक्रिया