२९ आश्विन २०८३, बिहिबार

शिक्षितहरुबाटै हुन्छ महिला माथि हिंसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tbb_26948_Domestic violenceअन्जली रम्तेल
काठमाडौँ । ‘‘मेरो श्रीमान् कानुन व्यवसायी हुन्, समाजमा उनको आफ्नै मान र इज्जत छ । तर रक्सी खाएर मलाई नकुटेको दिन नै हुँदैन ।’’ कालिमाटीस्थित प्रहरी महिला सेलमा आफूमाथि भएको हिंसाको विवरण सुनाउँदै थिइन् एक पीडित महिला ।

चालिस वर्षीया ती महिलाको श्रीमान्को कुटाइका कारण दाहिने हात भाँचिएको थियो । ‘‘सहन सकुञ्जेल त मैले सहेकै थिएँ’’,तर अब सक्दिन, उनले भनिन्– ‘‘परिवारको इज्जतका कारण मात्र अहिलेसम्म चुप थिएँ ।’’

हिंसाले पराकाष्टा नाघेपछि उनले प्रहरीमा उजुरी गरिन् । अहिले उनका श्रीमान्लाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । तर थुनाबाट निस्किएपछि मारिदिन्छु भन्ने धम्की दिन उनले छाडेका छैनन् ।

महिलामाथि हुने यस्ता हिंसाका घटना ग्रामीण भेगमा बढी सुनिएपनि पछिल्लो समयमा भने सहरी क्षेत्रका महिलासमेत आफूमाथि भएको हिंसाविरुद्ध आवाज उठाउन  थालेका छन् । यसरी घरेलु हिंसामा सहरका शिक्षित र प्रतिष्ठित भनिएका व्यक्तिबाटै महिलाहरु हिंसा खेप्न बाध्य छन् ।

यस्तै काठमाडौँकै एक अर्की महिलाले आफूमाथि भएको हिंसा यसरी सुनाइन्– ‘‘कक्षा ६ मा पढ्दापढ्दै म आफ्नै साथीको दाइबाट बलात्कृत भएकी थिएँ । तर पीडकलाई कुनै  कारबाही हुन सकेन । बलात्कारका कारण माइतीमा नै रहेको अवस्थामा छोरा जन्मियो, छोरा ६ वर्षको भएपछि पीडक पक्षले जबर्जस्ती बच्चालाई खोसेर लगे ।’’

पीडैपीडामा रहेको उनको जीवनलाई धान्नका लागि केही गर्ने उद्देश्यले उनले ब्युटिसियनको काम गर्न थालिन् । त्यत्तिकैमा उनको आफन्तको माध्यमबाट उनको विवाहको लागि प्रस्ताव आयो । सहमतिमै उनको विवाह भएको भए पनि केही समयपछि त्यही विगतको कारणले दिनरात पतिसँग झगडा र कुटपिट हुन थाल्यो । शारीरिक यातनाका कारण अहिले उनको दाहिने हातले काम गर्न छाडेको छ, टाउकोभरि चोटैचोट छ ।
उनले न्यायका लागि महिला आयोग, महिला प्रहरी सेललाई गुहारेपनि लोग्नेस्वास्नीको झगडा भनेर घरेलु हिंसाको मुद्दा नै दर्ता नभएको उनले बताइन् । हाल उनका श्रीमान्लाई प्रहरीले पक्राउ गरेको भए पनि घरेलु हिंसाको नभई रक्सी खाएर होहल्ला गरेको अभियोगमा समातेको हो ।

राष्ट्रिय महिला आयोगमा आउने मुद्दामध्ये अधिकांश मुद्दा सहर केन्द्रित भएको बताउँदै आयोगका सदस्य मोहना अन्सारीले भन्नुभयो– ‘‘सहरमा महिला हिंसाका घटना बाहिर आउने क्रम बढ्दो छ । घरेलु हिंसा, बलात्कार, खान लाउन नदिएको, कुटपिट, अंश, सम्बन्धविच्छेद, घर निकाला लगायतका मुद्दा आयोगमा पर्ने गरेका छन् ।’’
आयोगमा वार्षिक करिब ३५० को सङ्ख्यामा महिला हिंसाका घटना दर्ता हुने गरेका छन् । आर्थिक वर्ष ०७० । ७१ मा आयोगमा दर्ता भएका करिब २०० वटा घटना सहरभित्रका छन् ।
आयोगमा दर्ता भइसकेका मुद्दा प्रहरीमा दर्ता गराउनका लागि पटक÷पटक जानकारी दिएर चिट्टी नै पठाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । प्रहरी प्रशासन संवेदनशील बन्न नसकेकै कारण महिला हिंसाका घटना नियन्त्रण हुन नसकिरहेको उहाँको भनाइ छ ।
नेपाल प्रहरीका प्रवक्ता गणेश केसीले घरेलु हिंसाको कानुन पीडित मैत्री नभएका कारण दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन समस्या परेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘‘घरेलु हिंसाको कानुनअनुसार अन्य मुद्दामा जस्तो पीडकलाई म्याद थप गरी २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिँदैन । कानुनले २४ घण्टाभित्र अदालतमा मुद्दा चलाइसक्नुपर्ने व्यवस्था गरेकाले पीडकलाई एक दिन थुनामा राखेपछि छोड्नैपर्ने बाध्यता छ ।’’ रासस