२८ आश्विन २०८३, बुधबार

चिनियाँ अर्थसचिव राजधानीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-newकाठमाडौँ । चीनका अर्थसचिव सी याओबिन एसियाली पूर्वाधार लगानी बैंक स्थापनासम्बन्धमा वरिष्ठ सरकारी अधिकारीहरूसँग छलफल गर्न आज अपराह्न यहाँ आइपुग्नुभयो ।
तीनदिने भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थसचिव युवराज भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले बताउनुभयो ।

चिनियाँ अर्थसचिवले वरिष्ठ सरकारी अधिकारीहरूसँग नेपालको विकास प्रयासमा चीनले उपलब्ध गराउने प्राविधिक एवम् आर्थिक सहयोगका विविध पक्षबारे विचार विमर्श गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

चीनले क्षेत्रीय आर्थिक विकासलाई लक्ष्यित गरी पूर्वाधार निर्माणमा लगानी गर्न ५० अर्ब अमेरिकी डलरको कोष खडा गर्ने प्रस्ताव गरेको छ । दशवटा सदस्य मुलुकले त्यसमा रकम योगदान गर्नुपर्ने बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि खछ्याङले गत अक्टोबरमा एसियाली मुलुहरूबीच सडकजस्ता पूर्वाधारको माध्यमबाट एक आपसलाई जोड्न पूर्वाधार लगानी बैंक स्थापनाको प्रस्ताव गर्नुभएको थियो ।

सचिव सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई, यहाँस्थित चिनियाँ दूतावासका वरिष्ठ अधिकारी तथा अर्थमन्त्रालयका उपसचिव तारा सापकोटाले स्वागत गर्नुभएको थियो ।