कालीकोट, १२ जेठ । कालीकोटको रास्कोट दराका कुनाकन्दरामा उत्पादन हुने रातो चामल विस्तारै लोप हुन थालेपछि यहाँको पहिचान हराउँदै जान थालेको छ ।
केही वर्षअघिसम्म डोल्पा, मुगु, हुम्ला, जुम्ला, अछाम, बाजुरालगायतका जिल्लाहरुमा समेत निर्यात हुने गरेको सो चामल अहिले रास्कोट क्षेत्रमै पाउन मुश्किल भएको छ ।
उतिबेला नुनसँग साटिने चामल अहिलेको आधुनिक जमानासँगै हराउँदै गएकामा स्थानीयवासी चिन्तामा परेका छन् ।
समथर भूमि नभए पनि रातो चामल निकै उत्पादन हुने भएकाले यसको उर्बर भूमीको रुपमा चिनिने रास्कोट दरा गाउँको पहिचान विस्तारै ओझेलमा पर्न थालेको छ । तत्कालीन विकोट (हाल कालीकोट) जिल्लाको सदरमुकाम जुम्ला हुँदा कालीकोटका स्थानीयवासीले जग्गाको कर (तिरो) तिर्न पनि रातो चामलसमेत लैजाने गर्दथे ।
खानामा स्वादिलो र पौष्टिक भएकाले जुम्लाका ठूला बडाहाकिमले पनि कालीकोटको रास्कोटको चामल नै माग गर्ने र उनीहरुलाई सो चामल पु¥याउने गरेको स्थानीय बुढापाकाहरु बताउँछन् ।
स्थानीयवासीका अनुसार कालीकोटबाट २०१५ सालदेखि बाहिर जिल्लामा खाद्यान्न निर्यात हुने गरेको बताइए पनि त्यसभन्दा पहिले पनि जुम्लामा चामल र घ्यू जाने गरेको भनाइ रहेको छ । अहिले खाद्यान्न संकटको समस्या झेल्दै आएको कालीकोटबाट त्यतिबेला मानिसले चामल बोकेर अन्य जिल्लामा आपूर्ति हुने गर्दथ्यो ।
केही वर्षयता युवाहरुमा कृषि पेसालाई त्यागेर वैदेशिक रोजगारमा जाने क्रम बढ्न थालेपछि यस जिल्ला विस्तारै खाद्यान्नमा परनिर्भर हुँदै आएको छ । धान खेती गर्ने कृषकहरुमध्ये पनि अधिकांशले नयाँ धानखेती गर्ने गरेकाले रातो चामल पाउन मुश्किल भएको हो ।
गाउँका अधिकांश युवाहरु विदेसिनु र घरमा बस्नेहरु पनि विदेशबाट पठाएको रेमिट्यान्सको रकमका कारण खेती किसान गर्न छाडेका छन् । आफूले धेरै भएको चामल जुम्लाको खलंगा र मुगुको गमगढीमा लगेर बिक्री गरेको स्मरण गर्दै रास्कोट क्षेत्र स्युना गाविसका पूर्व मुखिया कन्न बुढाले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘२०२५ सालमा मुगुको गमगढीमा पहिलोपटक चामल बिक्री गर्न जाँदा प्रतिकिलो पाँच रुपैयाँमा चामल बिक्री गरेको थिएँ ।’ छिमेकी जिल्लाहरुबाट मानिसहरु गाउँमै नुनसँग चामल साट्न आउने गरेको उहाँ बताउनुहुन्छ ।
बढी उत्पादन गर्ने नाममा अहिले बजारमा पाइने अनेकथरिका धानको बीउ रोप्ने गर्दा स्थानीय अन्नबाली लोप हुँदै गएकामा स्थानीय किसानहरु चिन्तित देखिन्छन् ।
सुरुको केही वर्ष नयाँ विकासे धान केही बढी उत्पादन भएपनि लामो समयसम्म त्यो स्थानीय हावापानीमा उत्पादन हुन नसक्ने भएकाले अहिले उत्पादन घट्दै जाँदा जिल्लामा खाद्यान्न संकट बढ्दै गएको उनीहरुले विस्तारै बुझ्न थालेका छन् ।
विभिन्न रासायनिक मल र धान खेतीमा विषादी प्रयोगका कारण धान बालीमा उत्पादनमा कमी आएको स्थानीय मिम्का बुढाले बताउनुहुन्छ ।
विदेशबाट पठाएको पैसाले बजारको चामल किनेर खाने क्रमले मानिसहरुमा खेतीपाती गर्ने क्रम विस्तारै कम हुँदै गएको उहाँको भनाइ छ ।
युवाहरुमा कृषि पेसाप्रति नै वितृष्णा बढेको पाइन्छ । जागिरको खोजीमा चर्को ब्याजमा ऋण लिएर खाडीमुलुक भौँतारिने र घरका मान्छे पनि छोराले विदेशबाट पठाएको पैसाले चामल किनेर खाने क्रम बढेको छ । कतिपयले खेती गरेर केही पाइँदैन, बीउभन्दा झन घटेर उत्पादन हुने भन्दै खेतीपाती लगाउन नै छाड्न थालेका छन् ।
रास्कोटको स्युना गाविस–३ कर्णाली बस्तीका अधिकांश युवाहरु विदेशिएका छन् । गाविसभरिबाट दुई सयभन्दा बढी युवा खाडीलगायतका मुलुकहरुमा रोजगारीका लागि गएका छन् ।
उनीहरुबाट मासिकरुपमा झण्डै सात लाख रुपैंया रकम आए पनि त्यसको सही सदुपयोग हुन नसकेको स्थानीय राजेन्द्रबहादुर शाही बताउनुहुन्छ । विदेशबाट कडा परिश्रम गरी पठाएको रकम मदिरा तथा फजुलमा खर्च हुने गरेको उहाँ बताउनुहुन्छ ।
स्युनाको आरसिपी बजारमा विगत आठ वर्षदेखि होटल व्यवसाय गर्दै आएका सिंहराज शाहीका अनुसार दलित समुदायमा विदेशबाट पठाएको रकम फजुलमा खर्च गर्ने क्रम अझ बढी भएको बताउनुहुन्छ ।
गाउँका अधिकांशले बजारमा चामल किन्न पाइन्छ किन दुःख गर्नेभन्ने गलत धारणा बढ्दै गएको छ । तर आफू भने त्यसमा सहमत नभई भैँसी, बाख्रापालनसमेत गरेर मल बनाउने गरेको र त्यसबाट राम्रो उब्जनीसमेत भएको शाहीको भनाइ छ ।
रास्कोट क्षेत्रमा धान र गहुँबाली बराबर उत्पादन हुने गर्दछ । रास्कोटको माथिल्लो क्षेत्रमा फलफूलको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । वैदेशिक रोजगारबाट फर्किएका केही युवाहरुले यहाँ स्याउ, नासपति, अनार, आरुबोखरा, ओखरलगायतका फलफूल खेती सुरु गर्न थालेका छन् ।
स्युना–८ का राजेन्द्रबहादुर शाही उहाँलाई अहिले विदेशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा कुनै कृषिजन्य व्यवसाय गर्नु उत्तम हुने बताउनुहुन्छ । यहाँ एक घर एक बाख्राको अभियान पनि थालिएको छ । पछिल्लो समयमा यस क्षेत्रका स्युना, सिप्खाना, फुकोटलगायतका गाविसमा घरमा घोडाघोडी पाल्ने होडबाजी नै चलेको पाइन्छ ।
रास्कोट क्षेत्रका बिचमा पर्ने शान्तिघाट खोलाबाट उत्पादन भएको विद्युत्ले जिल्लाका ११ गाविसमा उज्यालो दिएको छ । ५०० किलोवाट क्षमताको पोतमारा जलविद्युत् केन्द्रबाट अहिले २५० किलोवाट मात्र प्रयोगमा आएको छ भने अन्य विद्युत्को प्रयोग हुन सकेको छैन । कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा स्थानीय राजनीतिक दलका नेताहरुले भन्दै आएका छन् । यहाँ अहिले सञ्चारको समेत पहुँच पुगेको छ ।
यस क्षेत्रको स्युनामा पाँच हजार १८० जनसङ्ख्या, फुकोटमा पाँच हजार ३६८ जनसंख्या र सिप्खानामा चार हजार ७४६ जनसंख्या रहेको छ । रासस














प्रतिक्रिया