२८ आश्विन २०८३, बुधबार

पाँच वटा आयोजना बनाइदिन विदेशी इच्छुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालले व्यहोरिरहेको चरम विद्युत् भार कटौतीलाई दृष्टिगत गरी आगामी पाँच वर्षभित्र पाँच वटा आयोजना निर्माणका लागि विदेशी प्रवद्र्धकले सरकार समक्ष प्रस्ताव गरेका छन् ।
ऊर्जा सङ्कटका कारण उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको वर्तमान अवस्थामा अति महत्वपूर्ण मानिएका ती आयोजनालाई अगाडि बढाउन प्रवद्र्धकहरू इच्छुक रहेका भन्दै उनीहरूबाट प्रस्ताव प्राप्त भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
वर्षायाममा भन्दा पनि हिउँदको समयमा विद्युत् बेच्ने लक्ष्यका साथ प्रस्ताव गरिएका ती आयोजनामा तिला पहिलो, तिला दोस्रो, माथिल्लो मस्र्याङ्दी, मनाङ–मस्र्याङ्दी र तल्लो अरूण छन् । जलविद्युत् क्षेत्रमा काम गर्दै आएको ब्राजिलको ब्रास पावर र भारतीय प्रवद्र्धकहरूले ती आयोजना निर्माणको आशयका साथ प्रस्ताव गरेका हुन् ।
कालीकोट जिल्लामा आयोजनास्थल रहने तिला पहिलो र दोस्रो जलविद्युत् आयोजनाका लागि स्थानीय साझेदारका रूपमा हिमाल हाइड्रो रहेको छ । ती दुई आयोजनालाई तिला हाइड्रोइलेक्ट्रिक कम्पनी र केएसके इनर्जी भेन्चरले संयुक्त रूपमा निर्माण गर्ने आशयका साथ प्रस्ताव गरेका हुन् ।
हिमाल हाइड्रोको संयोजनमा हाल माई जलविद्युत् आयोजना २२ मेगावाट, आँधीखोला जलविद्युत् आयोजना ९.४ मेगावाट, मध्यकोसी जलविद्युत् आयोजना १०२ मेगावाट, माथिल्लो भोटेकोसी ३६ मेगावाट र सोही आयोजनाको प्रसारण लाइनको काम भइरहेको छ ।
तिला पहिलो र दोस्रो जलविद्युत् आयोजनाको क्षमता क्रमशः ४४० र ४२० मेगावाट रहेको छ । यस्तै माथिल्लो मस्र्या्ङदीको क्षमता १३८ मेगावाट र मनाङ–मस्र्याङ्दीको क्षमता २८२ मेगावाट रहेको छ । यस्तै तल्लो अरूण कुल ४०० मेगावाटको लागि समेत प्रस्ताव परेको छ ।
वर्षाको समयमा भारतलाई बिजुली बेच्ने र हिउँदको समयमा नेपाललाई नै बिजुली बेच्ने प्रस्ताव गरिएको प्राधिकरणका व्यापार शाखाका प्रमुख हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । भारतको राजरत्न कम्पनीले ती दुई आयोजना निर्माणका लागि प्रस्ताव गरेका हुन् ।
हिउँदको पाँच महिना ती आयोजनाबाट उत्पादित विद्युत् नेपाललाई बेच्ने र अरू समय भारतलाई बेच्ने तयारी गरिएको छ । आयोजनाका स्थानीय प्रतिनिधि डिकेन्द्रराज कँडेलका अनुसार ती दुई महत्वपूर्ण आयोजनामा लगानी गरी मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्न प्रवद्र्धकहरू तत्पर रहेका छन् ।
ती आयोजना निर्माणको प्रक्रियामा अगाडि बढ्ने अवस्था आए पनि प्रसारण लाइनको अभावमा रहेका कारण तत्काल प्रसारण लाइन निर्माणका लागि समेत प्राधिकरणले पहल गर्नुपर्ने माग पनि उत्तिकै मात्रामा उठेको छ । ती दुई आयोजनाका प्रवद्र्धकबाट उत्पादन अनुमति पाउँ भनी विद्युत् विकास विभागमा निवेदनसमेत परेको छ । प्रवद्र्धकले डलरमा विद्युत् खरिद सम्झौता (पिपिए) गर्न माग गरेका छन् । तर प्राधिकरणले भने डलरमा पिपिए गर्न नसकिने जनाउँदै आएको प्रमुख शाक्यले जानकारी दिनुभयो ।
‘‘हामी डलरमा पिपिए गर्न सक्ने अवस्थामा छैनौँ, नेपाली मुद्रामा नै पिपिए गर्नुपर्छ भन्नेमा छौँ, छलफल जारी छ”, प्रमुख शाक्यले भन्नुभयो ।
विगत एक महिनादेखि ती आयोजनाका प्रवद्र्धकसँग छलफल जारी रहेको बताइएको छ । ती चारवटै आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट १० रुपैयाँ ६० पैसामा खरिद गर्ने बताइएको छ ।
डलरमा पिपिए गर्दा खिम्ती र भोटेकोसी जलविद्युत् आयोजनाले प्राधिकरणलाई पुरयाएको क्षतिलाई हेर्दा ती आयोजनाका प्रवद्र्धकसँग डलरमा सम्झौता हुने सम्भावना भने कम रहेको छ । निर्माण प्रक्रिया प्रारम्भ गर्न प्रवद्र्धकले गत माघमा नै अनौपचारिक जानकारी गराएका थिए ।