नयाँ दिल्ली । भारतीय केन्द्रीय बैङ्क रिजर्व बैङ्क अफ इण्डिया (आरबीआई)ले सुन आयात नीतिलाई खुकुलो बनाएको छ ।
सुन आयात नीति उदार बनाइएपछि ज्वेलरी, सुनका ढिक्का तथा सिक्काका डिलर, बैङ्क तथा व्यापारिक निकायलगायत २० ओटा क्षेत्रले सहज रूपमा सुन आयात गर्न पाउने भएका छन् । यससँगै बैङ्कहरूले घरेलु ज्वेलरी निर्माताहरूलाई सुन कर्जा दिनसमेत स्वीकृति पाएका छन् । गतवर्ष नियम कडा पारिएपछि बैङ्कहरू घरेलु ज्वेलरी निर्मातालाई कर्जा दिनबाट बञ्चित भएका थिए ।
नियम खुकुल्याइएपछि मासिक सुन आयात बढ्ने देखिएको छ । भारतले हाल मासिक २० टन सुन आयात गर्दै आएकोमा अब भने सो परिमाणमा १० देखि १५ टनसम्मको वृद्घि हुनेछ । त्यस्तै भारतका आगामी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सुन आयात प्रतिबन्ध खुकुल्याउनेप्रति चासो देखाएका छन् । यससँगै भारतीय शेयर बजारमा सूचीकृत अधिकांश ज्वेलरी कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ ।
बिहीवार बम्बे स्टक एक्सचेञ्जमा टाइटन कम्पनी लिमिटेडको शेयरमूल्य ६ दशमलव ५५ प्रतिशतले बढेर ३ सय ३० रुपया ४५ पैसामा उक्लिएको छ । त्यस्तै गीताञ्जलि जेम्स लिमिटेड र राजेश एक्सपोर्ट लिमिटेडको शेयर पनि क्रमशः ११ दशमलव ९३ र ११ दशमलव १० प्रतिशतले बढेका थिए । सन् २०१३ मा भारतले सुन आयात महशुललाई १० प्रतिशतको कीर्तिमानी उचाइमा पुर्याएको थियो । भारतको बढ्दो व्यापारघाटालाई केही कम गर्न यस्तो कदम चालिएको थियो । एजेन्सी













प्रतिक्रिया