२८ आश्विन २०८३, बुधबार

गोरखामा लटरम्म अङ्गुर, किसान दङ्ग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Grapeगोरखा । सुन्तलाखेतीका लागि प्रख्यात मानिएको गोरखा जिल्लामा पछिल्लो समयमा अङ्गुरखेती फस्टाउन थालेको छ ।

गोरखा नगरपालिका–८, दलभञ्याङका किसानले रहरले सुरु गरेको अङ्गुरखेती अहिले आम्दानीको स्रोत बनेको छ ।

तेह्र वर्षअघि भारतको कास्मिरबाट १० वटा बेर्ना ल्याएर थालिएको अङ्गुर अहिले घरैपिच्छे खेती गरिएको छ । जिल्लाको नगरपालिकास्थित वडा नम्बर १० र ११ च्याङ्ली, धुवाँकोट, मनकामना, बक्राङलगायतका गाविसमा अङ्गुरको व्यावसायिक खेती थालनी भएको हो ।

दलभञ्याङका ६० घरपरिवारले अङ्गुरखेती गरेका छन् । तीमध्ये एक दर्जन किसानले व्यावसायिक खेती थालेका छन् । घर अगाडि आँगनमा टाँड बनाएर अङ्गुरखेती गरिएको छ ।

अहिले अङ्गुरको मौसम भएकाले दलभञ्याङका हरेकजसो घरको आँगन अङ्गुरले छोपिएको छ । लटरम्मै अङ्गुर झुत्तिएका छन् । एउटामात्रै बोट हुनेले पनि बिक्री गरेर आम्दानी लिने गरेको स्थानीय अमृत खत्री बताए ।

उत्पादित अङ्गुर किसानले घरैबाट प्रतिकिलो १०० मा बिक्री गर्छन् । किसानले अङ्गुरको फलसँगै बेर्ना उत्पादन र बिक्री पनि सुरु गरेका छन् । जिल्लाका विभिन्न गाउँ र अन्य जिल्लाका मानिसले अङ्गुरको बेर्ना खोजी गर्न थालेपछि स्थानीयले प्रतिवटा ५० मा बेर्ना पनि बिक्री गर्न थालेका छन् ।