राजा एउटा शक्ति हो, कम्युनिष्ट अर्काे शक्ति हो । अनि त्यसमा के त्यस्तो नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्ला हात गरेर उभिनुपरोस र राजाले हामीतिर जम्ला हात गर्न नपरोस । त्यसो भएको हुनाले यो पारस्परिक सम्वन्ध हो । अहिले त राजाले पनि हामीलाई समाप्त पार्न चाहेका थिए तर सकेनन । सकेको भए राजाले हामीलाई यस ढंगले मैदानमा आउन दिने थिएनन । तर कुनै फटाहले राजाको अनुकम्पाद्धारा प्रजातन्त्र आएको छ भन्ने प्रचार गर्छ भने गरिरहोस । चैत २७ गते गिरिजाबाबुको पनि त्यस्तै खालको भनाई थियो । तर पनि दुनियाँँलाई थाहा छ : २०४६ साल फागुन ६ गते देखि चैत २६ गतेसम्म सयौँ आन्दोलनकारी हताहती हुनुपर्यो । त्यो अरु कसैको आदेशले होइन । मरिचमानको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्ने आट गरोस त्यसले । त्यो त महाराजको कृपा हो । घोडामा सवार भएर मतले मात्तिएर आखा चिम्लिएर तीस हजार भन्दा बढ्दा मान्छेहरु मारेर भए पनि पञ्चायती व्यवस्थालाई जोगाउनुपर्छ भन्ने महाराज र महारानीहरु घोडाबाट ओर्लेर आन्दोलनकारीहरुसंग सम्झौता गर्न आउनुपर्यो । बादशाहले पनि घोडाबाट ओर्लेर जनतालाई जम्लाहात गर्नुपर्यो । त्यसकारण यो अनुकम्पाले आएको प्रजातन्त्र होइन ।
मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो । बाध्यतापूर्वक नै सम्झौता गरेको भएपनि हामी फेरि बचनवद्धताप्रति इमान्दार भएर उभिन चाहन्छौ । मानसम्मानलाई उपयोग गर्दै किनारामा बसिबक्सियोस महाराज ! हात नलम्काई बक्सियोस ! आँखा नचम्काई बक्सियोस ! आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस ! यदि सन्डमुसन्डहरुलाई नै चलाउने हो भने, यदि सन्डमुसन्डहरुलाई अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्यो, ताकि प्रतिद्वन्द्विता गर्न सकियोस । यसो भएको हुनाले यो त बाध्यताको कुरा हो । राजासंग प्रश्न गर्ने हो भने सायद राजाले पनि भन्नेछन ‘यो त एउटा बाध्यताको कुरा हो, म त कहाँ कम्युनिष्ट मान्छु र ।’ त्यसो भएको हुनाले यो पारस्परिक कुरा हो । मैले भन्न खोजेको कुरा के हो भने परिस्थितिले शत्रुसंग पनि सम्झौता गर्नुपर्ने स्थितिमा पुर्याउँछ । हामीले त्यही सम्झौता गरेका हौँ । हामीले ढाट्नु किन छ र ?
हाम्रा अगाडिका दस्तावेजहरुले सुस्पष्ट रुपमा भनेका छन । यो मुलुकको प्रजातन्त्र र राष्ट्रियताको एक नम्बर दुस्मन भनेको राजतन्त्र नै हो । हामीले त्यो घोषित गरेका छौ । फिर्ता त लिएका छैनौं नि हामीले । किन फिर्ता लिने ? जब यो तीस वर्षको शासन प्रणाली राजाले चलाएका थिए, राजाको हुकुमको आधारमा मुलुकको भाग्य रेखा कोरिन्थ्यो । तीस वर्षमा मुलुक माथि पुगेको भए राजाको जयजयकार गर्न सकिन्थ्यो । जब मुलुक वर्वाद भएर दुनियाको दोस्रो नम्बरको गरिब राष्ट्र भइसकेको छ । हिँडेको पाले पहरेदारले शिकार मारे पनि महाराजकै गोलीबाट मर्यो भन्ने संस्कारबाट हामी मुक्त हुनुपर्छ र यो सामन्ती सस्कारलाई हामीले फाल्नुपर्छ । अर्थात राम्रो भयो भने राजाले गरेको, नराम्रो भयो भने अरुले गरेको, हाम्रो कर्मले गरेको भन्ने संस्कारबाट हामी मुक्त हुनुपर्छ । देशमा वर्वादी गरेको पनि राजाले हो । यदि राम्रो काम गरेको भएपनि राजाले नै हो । मुलुकमा राजाको नेतृत्व थियो । यसो भएको हुँदा त्यसबेला त्यो निर्दलीय व्यवस्थाले मुलुकलाई वर्वाद पारेको हुनाले मुख्य शत्रु राजतन्त्र हो भनेर हामीले भनेका हौँ । र, त्यही मुख्य शत्रुसंग संघर्ष गर्दै यो प्रजातन्त्र हासिल भएको हो । यसो भएको हुनाले त्यो संघर्षको क्रममा हामीले सम्झौता गर्नुपरेको हो । अब केवल सिद्धान्तको रक्सी पिएर बस्तुगत स्थितिको विश्लेषण नगरी यदि लकिर का फकिर भएर चलिन्छ भने त्यसले आन्दोलनलाई कुनै गति दिन सक्दैन । मैले यो जडसुत्रवादको खण्डन गर्न खोजेको हुँ । यो पुस्तक पुजाको, कठमुल्लावादको मैले विरोध गर्न खोजेको हु, जसले कम्युनिष्ट आन्दोलनमा अझै पनि दुःख दिइरहेको छ । अब यसप्रति नेपाली कांग्रेसको के विश्लेषण छ ? त्यो कांग्रेसले अघि सार्नुपर्यो । हामी सामन्तवादलाई उन्मुलन गर्न चाहन्छौँ । सामन्ती स्वामित्वलाई समाप्त पार्न चाहन्छौ । र जोत्ने किसानलाई जमिनको मालिक बनाउन चाहन्छौँ । यसको तात्पर्य के हो भने हामी जमिन्दारको जमिन खोस्न चाहन्छौँ । सामन्तहरुको हातबाट जमिन लिएर हामी किसानहरुको हातमा त्यसको स्वामित्व स्थापित गर्न चाहन्छौँ । हाम्रो कार्यक्रम यो हो । दुई–चार विघा हुनेहरु, पाँच– दश विघा हुनेहरुको पनि सबै जमिन कम्युनिस्ट पार्टी आयो भने खोसेर किसानलाई दिन्छ भन्ने खालको कांग्रेस र अरुले गरेको दुस्प्रचारको भ्रममा यहाँहरु नपर्नुहोस । हामीले त महासामन्तहरुको जमिन खोसेर किसानलाई दिनुपर्छ भन्ने कार्यक्रम लिएका हौँ । हामी महासामन्तहरुको सामन्ती सान सौकतलाई समाप्त पार्न चाहन्छौँ । हामीले कृषिको क्षेत्रमा गर्न खोजेको मुल परिवर्तन यही हो । अब नेपाली कांग्रेसले पनि जोत्ने किसानलाई जमिनको मालिक बनाउनुपर्छ भन्ने कुरा उल्लेख गरेको छ । कुनै कुरा उल्लेख गर्ने वित्तिकै हुन्छ कि त्यसको निम्ति व्यवहारिक आचरण पनि चाहिन्छ ? पञ्चायतलाई कहीँ नभएको प्रजातन्त्र भनेर मरिचमानले भन्दै हिँडेका थिए । दुनिँयाका तानाशाहहरुले पनि आफूलाई जोगाउनका लागि प्रजातन्त्रको कुरा गर्ने गर्छन् । मैले त केवल प्रमाण दिन खोजेको हो ।
कर्णाली पारी जानुस् , सुदुरपश्चिम जानुस त्यहाँ कमलरी प्रथा जीवित छ । त्यहाँ नेपाली कांग्रेसका नेताहरु जसले एकातिर गाईको गोठ र अर्काेतिर कमैयाहरुको गोठ पालेका छन् । ति महासामन्तहरुले कमैयाहरुको शोषण उत्पीडन गरिराखेका छन । कमैया प्रथालाई जीवित राखेका छन । कांग्रेसले भन्छ के र गर्छ के कमलरी प्रथाको बारेमा ? कुराको आधारमा होइन कामको आधारमा मुल्याङकन हुनुपर्छ । दुनिँयाभर कम्युनिष्टहरु लोप भइरहेका छन भन्ने कुप्रचार भइरहेको छ । म एउटा कुरा भनौँ कि दुनिँयामा जतिसुकै ठाउमा अहिले कम्युनिष्टहरु सत्ताबाट हटेका हुन वा पुगेका हुन, त्यसले माक्र्सवाद– लेनिनवादको सास्वत्तालाई कुनै फरक पार्नेवाला छैन । अर्थात माक्र्सवादको मुलभुत तत्व भनेको शोषण र उत्पीडनलाई समाप्त पार्नु हो र श्रमजीवि उत्पीडित जनताको राज्य स्थापित गर्नु हो । आज कम्युनिष्ट आन्दोलनमा आएका केही समस्याहरुलाई अगाडि सार्दै पुँजीवादी तत्वहरु खासगरी त्यसका नाइके जर्ज बुसले यो कुरालाई प्रचारित गर्ने कोसिस गरिरहेका छन् । त्यसको सिको गर्दै यहाँ पनि नेपाली कांग्रेसका नेताहरु त्यो कुरालाई प्रचार गरिरहेका छन । अब कम्युनिष्ट भनेका त दुई दिनका पाहुना हुन, धेरै दिन यिनिहरु रहनेवाला छैनन् । आदरणीय जनसमुदायहरु, जब दोस्रो विश्वयुद्धपछि दुनिँयामा कम्युनिष्ट आन्दोलनले तीब्र गतिमा विकास गर्यो, त्यसबेला कम्युनिष्ट आन्दोलनको बढ्दो विकासलाई रोकथाम गर्न पुजीवादी तत्वहरुले प्रजातान्त्रिक समाजवादको कोरा नारा अगाडी सारे । त्यही कोरा नाराको पछाडि लागेर नेपाली कांग्रेस आफ्नो घोषणा पत्र र विभिन्न भाषणहरुमा भनिरहेको छ : ‘उ प्रजातान्त्रिक समाजवादको पक्षपाती रे !’ । के हो त्यो प्रजातान्त्रिक समाजवाद भनेको ? त्यसले कस्तो खालको उत्पादन सम्बन्ध कायम गर्छ ? त्यसले उत्पादक शक्तिहरुको हक हित को कुन ढंगले संरक्षण गर्छ ? यो कांग्रेसीहरुको मात्र कुरा होइन, कांग्रेसका सर्वमान्य नेता गणेशमानको मुखारविन्दुबाट निस्केको वाक्य मात्र होइन । यो त दुनिँयाका सवै पुजीवादपन्थीहरुले सोची विचारी निकालेको एउटा खोक्रो नारा हो । जुन नाराको एक सय भन्दा बढ्ता त व्याख्या नै छन ।
यदि मदन भण्डारीको क्षमता छ भने काठमाडौको क्षेत्र नं. १ मा उठोस् र एउटा ऐतिहासिक रेकर्ड कायम गरोस्, कृष्णप्रसाद भट्टराईसंग टक्कर गरोस भनेर लल्कारिएको छ । मेरो भन्नु के छ भने मदन भण्डारी कृष्णप्रसादसंग मात्र होइन, आफूलाई निकै लोकप्रिय र विष्णुको अवतार हुँ भनि ठान्ने राजा विरेन्द्र पनि अहिलेलाई श्रीपेच खोलेर मैदानमा आउँछन् र प्रतिष्पर्धा गर्न चाहन्छन् भने पनि मदन भण्डारी तयार छ । मलाई कुनै फिक्री छैन, मदन भण्डारीले काठमाडौँको यही १ नं. क्षेत्रमा उठ्नुपर्छ भनेर पार्टीले फैसला गर्यो भने ।
मलाई पुनर्जागरण भन्ने पत्रिकाले प्रचार गरेजस्तो उट्पट्याङ भाषण गर्नु छैन । तर पनि मलाई मनमा अलिकति खेद नै हुनेछ: मैले कृष्णप्रसाद भट्टराईको जमानत जफ्त गरिदिनुपर्यो भने । यसकारणले कि व्यक्तिगत रुपमा कृष्णप्रसाद भट्टराईलाई म गिरिजाभन्दा बेस मान्छु । कृष्णप्रसाद भट्टराई जी, देशको कुनै न कुनै चुनाव क्षेत्रबाट संसदमा आउनुहोस । मेरो शुभकामना छ । तर जब १ नंं चुनाव क्षेत्रमा मदन भण्डारी आउने भन्ने विभिन्न ढंगले चर्चा भइसकेपछि वा त्यस ढंगले टुंगो भइसकेपछि त्यही ठाउँमा आउनुहुन्छ भने मदन भण्डारी कृष्णप्रसाद भट्टराईसंग प्रतिद्वन्द्वीता गर्नका निम्ति कुनै हिच्किचाहट मान्नेवाला छैन ।
म सामन्तवादको उन्मुलन चाहन्छु, दरवारियाहरुले उपयोग गरिरहेको विशेषाधिकारलाई अन्त्य गर्न चाहन्छु, र राजाले पनि अलि बढ्ता कुरा गर्छन् भने यही संविधान अन्तर्गत रहने गरी चार लाख भत्ता दिने जुन कुरा भएको छ, त्यसबाट खसालेर १५ हजार भन्दा बढि दिँदै नदिने तहमा झारिदिनेछु । सार्वभौम सत्ताको प्रयोग गर्ने सन्दर्भमा संविधानमा गोलमटोल भाषा प्रयोग गरिएको छ । सार्वभौम सत्ताको प्रयोग जनताबाट निर्वाचित भएको संसदले गर्नेछ भन्ने कुरा राख्नुको साटो संविधान बमोजिम प्रयोग हुने छ गोलमटोल भाषा राखिएको छ, त्यसलाई हटाएर जनताबाट निर्वाचित प्रतिनिधिहरुले प्रयोग गर्नेछन भन्ने कुरा संशोधन गर्नका निम्ति अर्थात त्यहाँ भएको राजाको विशेषाधिकार हटाइदिनका निम्ति पहल गरिनेछ । राजाले धेरै चुरीफुरी गर्छन भने पत्रकार बन्धुहरुले नोट गरेहुन्छ: ‘यो संविधानमा राजा को विषयमा प्रश्न उठाउँन पाईँदैन भन्ने कुरालाई पनि संशोधन गरिनेछ !’
अव यो मुलुकमा राजा राख्दाखेरी त्यो राजा चावहिलबाट कुदेर जो चाडो किर्तिपुर पुग्छ त्यही राजा हुनेछ भनेर पनि राख्न सकिन्छ । त्यसो हुँदा राजा वीरेन्द्र र उनका छोरा दीपेन्द्र राजा हुने हो भने उनले अव बैकुण्ठ मानन्धरलाई जित्नको निम्ति कोसिस गर्नु पर्छ । मैले भन्न खोजेको कुरा के हो भने यस खालका मुद्धाहरुलाई हामी चुनावका मुख्य मुद्धा बनाउनेछौँ, भट्टराईजी तपाईको सोचाई के छ नी ? हामी महासामन्तहरुको शोषण उत्पीडनलाई अन्त्य गर्न चाहन्छौ, यहाँको कार्यक्रम के छ नी ? हामी साम्राज्यवादको थिचोमिचोलाई अन्त्य गर्न चाहन्छौँ, भट्टराईजी तपाई के भन्नुहुन्छ नी ? साझा नदीको कन्सेप्टलाई हामी उल्ट्याउन चाहन्छौ, भट्टराईजी तपाईको के विचार छ ? हामी भनिरहेका छौँ, प्रजातान्त्रिकरणको मुद्धा भनेको प्रशासनिक क्षेत्रमा प्रजातान्त्रिकरण गर्ने कुरा हो । सञ्चार एवम् तमाम क्षेत्रमा निष्पक्षता र स्वतन्त्रता स्थापित गर्ने कुरा हो । अन्तरिम सरकारका प्रिय प्रधानमन्त्री भट्टराईजी तपार्इँको भनाई के छ नी ? यही कुरालाई दिमागमा राखेर मदन भण्डारीसंग प्रतिष्पर्धा गर्न आउनुहोला । त्यसो हुनाले मैले यो भन्नु छैन, मदन भण्डारी यहाँ आयो भनेर भनिहाल्नु छैन, आउन पनि सक्छ नआउन पनि सक्छ । तर यो सूर्य त आयो, आयो । यो पार्टी त आयो आयो । यसलाई तीनटा राजाले कोसिस गरेर पनि धपाउन सकेनन, अब नेतात्रय जसले आफूलाई ब्रम्हा, विष्णु, महेश्वर ठानेका होलान, उनीहरुले पनि यसलाई हल्लाउन सक्नेवाला छैनन । त्यसो हुनाले मलाई लाग्छ कुनै फरक पर्नेवाला छैन । चाहे यो सूर्य चिह्न बोकेर यहाँहरुको घर दैलोमा म नै उम्मेदवार भए भनेर मदन भण्डारी आओस, वा सूर्य चिह्न बोकेर अर्काे कोही हाम्रो पार्टीको उम्मेदवार आओस, त्यसले केही फरक पार्नेवाला छैन । यो पार्टी आवश्यक पर्यो भने बन्दुक बोकेर, त्यस्तो परेन भने व्यालेट बोकेर रचनात्मक ढंगले दुवै किसिमले आउनका निम्ति तयार छ । र हामी मैदानमा उत्रिसक्यौ, अब फैसला दुई महिनाभित्रै हुनेवाला छ ।
(जननेता मदन भण्डारी २०४८ सालको आम निर्वाचनमा चावहिल चोकको सभालाई सम्बोधन गर्दै)
















प्रतिक्रिया