२९ आश्विन २०८३, बिहिबार

पशुपतिनाथमा पुजारीको आन्दोलन: विशेष पूजा समेत प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasupatinath

काठमाडौं। पशुपतिनाथको मन्दिरमा करिब एक महिनादेखि विशेष पूजा हुन नसक्दा पूजाका लागि जाने भक्तजन मर्कामा परेका छन् ।

गत चैत २६ गतेदेखि विशेष पूजाको दक्षिणा वृद्धिको माग गरी भट्टहरुले विशेष पूजा रोकेकाले त्यसका लागि आउने भक्तजनलाई कोषले फकाउने गरेको छ । पूजाबाट दैनिक करिब तीन / चार लाख कोषलाई नोक्सान भइरहेको छ ।

भट्ट तथा पुजारीले पूजा गरेबापत साढे सात प्रतिशत दक्षिणा प्राप्त गर्ने गर्दछन् । पशुपति क्षेत्र विकास कोषले निर्धारण गरेको शुल्क तथा मापदण्डका आधारमा विभिन्न व्यक्तिले आफ्नो क्षमताअनुसार विशेष पूजा गराउने चलन रहेको छ ।

कोषले विशेष पूजाका लागि एक हजार १०० देखि नौ लाखसम्मको शुल्क निर्धारण गरेको छ । त्यसमा पूजाको प्रकृति हेरी भट्ट तथा पुजारीको सहभागितामा पूजा सञ्चालन गरिन्छ ।

धेरैजसो भक्तजन एक हजार १०० तथा दुई हजार १०० सम्मको विशेष पूजा गर्न आउने गरेको कोषले जनाएको छ । प्रत्येक दिन करिब २०० भक्तजनले यस्तो पूजा सञ्चालन गर्दै आएको तथ्याङक छ ।

मन्दिरमा हुने नियमित पूजा तथा नित्य धार्मिक कर्म भने निरन्तर सञ्चालन भएको कोषका सदस्य–सचिव डा. गोविन्द टण्डनले बताए । उनले मन्दिरको आम्दानीको आधारमा समयसापेक्ष भट्टहरुको सेवा सुविधा वृद्धि गर्नका लागि सम्बन्धित निकायसँग संवाद भइरहेको जानकारी पनि दिए ।

अहिले विशेष पूजा सञ्चालन गरेबापत कोषलाई वार्षिक पाँच करोड आम्दानी हुने गरेको छ । मूल भट्टको मासिक तलब दुई लाख २० हजार र भट्टको एक लाख ७० हजार हुने गरेको कोषले जनाएको छ ।