२९ आश्विन २०८३, बिहिबार

वैदेशिक रोजगारीमा प्रत्येक महिना ७२ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

crying girlकाठमाडौं । नेपालीहरूको वैदेशिक रोजगारीमा जाने सङ्ख्यामा वृद्धिसँगै विदेशिएका नेपाली कामदारहरूको ति मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ ।
गएको वर्ष नेपालबाट रोजगारीमा गएका ८६४ जनाको मृत्यु विदेशमा भएको छ ।

२०७० सालमा वैशाखदेखि चैत मसान्तसम्ममा मृत्यु हुनेमध्ये ८४५ जना पुरुष र १९ जना महिला छन् । योबाहेक पनि ठूलो सङ्ख्यामा अवैधानिकरुपमा विदेशिएका नेपालीहरूको मृत्यु हुने गरे पनि त्यसको तथ्याङ्क नेपाल सरकारसँग छैन ।

भारत हँदै तेस्रो मुलुक भएर अवैधानिकरुपमा विदेशिएका नेपालीहरूको मृत्यु भए पनि उनीहरू अवैधानिकरुपमा गएकाले उनीहरूको शव ल्याउन समेत अप्ठयारो पर्ने गरेको छ ।

त्यस्तै भारतमा बर्सेनि सयौं नेपाली कामदारको मृत्यु हुने गरेको अनुमान गरिएको छ, जसको तथ्याङ्क पनि सरकारसँग छैन ।

वैदेशिक रोजगार प्रवद्धन बोर्डका निर्देशक टीकाप्रसाद भण्डारीले खुला सीमाका कारण भारतमा गएर काम गर्दा मृत्यु हुने नेपाली कामदार र भारत हुँदै अवैधानिकरुपमा तेस्रो मुलुकमा पुगी मृत्यु भएका नेपाली कामदारको स्पष्ट तथ्याङ्क नभएको बताए ।

उनले भारत बाहेकका तेस्रो मुलुकमा वैधानिकरुपमा गएका कामदारको मात्रै तथ्याङ्क बोर्डले राख्ने गरेको जानकारी दिए ।

तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ७२ जना वैदेशिक रोजगारीमा मृत्यु हुने गरेको छ । जसमा रोजगारीबाहेक पढ्न र अन्य कार्यको क्रममा विदेशमा मृत्यु भएका नेपालीहरू समावेश गरिएको छैन ।

वैदेशिक रोजगार प्रवद्धन बोर्डका अनुसार गएको वर्ष सबैभन्दा बढी मलेसियामा २९९ जनाको मृत्यु भएको छ । त्यस्तै साउदी अरबमा २३३ , कतारमा १८४, युयई (दुवई)मा ५८ जना, कुवेतमा ४४ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरीयामा १४ जना, ओमनमा १३, बहराइनमा सात जना, अफगानिस्तानमा दुईजना, जापानमा दुई, जर्मनी, इजरायल, माल्दिभ्स, रसिया, श्रीलङ्कामा, अमेरिका र पपुवान्यूगीनीमा एक÷एक जना नेपाली कामदारको मृत्यु भएको छ ।

बोर्डले वैदेशिक रोजगारीमा गएकाको मृत्यु भएमा एक लाख पचास हजारसम्म क्षतिपूर्ति दिने गरेको छ । गएको वर्ष बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिस्वरुप ११ करोड ८७ लाख ८५ हजार प्रदान गरेको छ ।