काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ ।
गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५५८ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्कनु भएको थियो ।
ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष ९पीपलको रुख० मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ ।
भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने बुद्ध धर्मको सार हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने ८ वटा मार्ग छन् भनी गौतम बुद्धले ज्ञान दिनुभएको छ ।
तृष्णा क्षय गर्ने ८ वटा मार्ग हुन्:
१. सम्यक् संकल्प
२. सम्यक् दुष्टि
३. सम्यक् वचन
४. सम्यक् कर्मान्त
५. सम्यक् आजीविका
६. सम्यक् व्यायाम
७. सम्यक् स्मृति
८. सम्य्क समाधि
ज्ञान प्राप्त गरिसकेपछि भगवान् गौतम बुद्धले सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रथम पटक धर्म देशना गर्नुभएको थियो भनी बौद्ध धर्म ग्रन्थहरूमा उल्लेख गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुहुन्छ ।
बुद्धले ज्ञान प्राप्त गरेर ४५ वर्षसम्म अनवरत त्यो ज्ञानको प्रचार प्रसार गर्नुभयो । यही ज्ञानलाई पछि बौद्ध दर्शन भन्न थालियो र यसले छुट्टै धार्मिक सम्प्रदायको रुप ग्रहण ग¥यो ।
पैंतालिस वर्षसम्म ज्ञानको प्रचार प्रसार गरिसकेपछि ८० वर्षको उमेरमा ईसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा बुद्धले महापरिनिर्वाण प्राप्त गर्नुभयो ।
आजको दिन नेपाल सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ ।
गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिनुभएको थियो, जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ ।
बुद्ध जन्मिएको नेपाललाई अझै विश्व स्तरमा परिचित गराउने उद्देश्यले प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र एसियाका भारत, वर्मा, श्रीलंका, थाइल्याण्ड, हङकङ, मंगोलिया, भूटान र सिंगापुर लगायतका राष्ट्रहरूलाई समेटेर बौद्ध सर्किटको स्थापना गर्न एक अन्तर्राष्ट्रिय सम्मेलनमा गर्नुभएको प्रस्तावलाई अन्तराष्ट्रिय समुदायले पनि समर्थन गरेको छ ।
नेपालमा समेत लुम्बिनी, स्वयम्भू, जामाचो, बौद्ध, मणिचुड र नमोबुद्ध लगायतका वौद्ध धार्मिक तीर्थस्थलहरूलाई समेटी नेपालभित्रै बौद्ध सर्किटको स्थापना गर्ने प्रस्ताव व्यवस्थापिका–संसदमा सभासद् रामेश्वर फुयाँलले पेस गर्नुभएको छ ।
नेपालको लुम्बिनी, स्वयम्भू, कीर्तिपुर, पाटन र बौद्धमा समेत छुट्टाछुट्टै मूल समारोह समितिहरूको गठन गरी प्रत्येक वर्ष साताव्यापी रुपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।
हाल त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा बौद्ध दर्शन विषयको अध्ययन अध्यापन हुँदैआएको छ । रासस














प्रतिक्रिया