काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता एवम् डा बाबुराम भट्टराई पक्षधर नेता देवेन्द्र पौडेलले पार्टी फुटाउनका लागि आफूहरुले विराटनगरको राष्ट्रिय सम्मेलन बहिष्कार नगरेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले आफूहरुले पार्टी फुटाउन विराटनगर राष्ट्रिय सम्मेलन बहिस्कार नगरेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले महानता देखाउँदै गुटबन्दीको राजनीति छाडे पार्टी एक भएर अघि बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।
पार्टीलाई सहमतिमा अघि बढाउन अध्यक्ष प्रचण्ड सकारात्मक देखिएकोले केन्द्रीय समितिको बैठकमा आफूहरु सहभागि हुने उहाँले जानकारी पनि दिनुभयो ।
साक्षात्कारमा नेता पौडेलले आफू र नेता टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग छलफल गरेको जानकारी प्नि दिनुभयो । ‘उहाँहरु १५१ सदस्यीय केन्द्रीय समिति बनाउने लगायतका मागमा सकारात्मक रहेकोले बैठकमा सहभागी हुने स्थिति पैदा भएको छ ।’ पौडेलले भन्नुभयो ।
पौडेलले भन्नुभयो– ‘बाबुराम भट्टराई बैशाख ३० गते काठमाडौं आइपुग्नु हुने भएकोले जेठ १ गतेको लागि बोलाइएको केन्द्रीय समितिको बैठक सार्न आग्रह गरेका छौ । अध्यक्षले बैठक सार्नुभयो भने हामी आन्तरिक छलफल गरेर बैठकमा सहभागी हुन्छौ ।’
पौडेलले आफूहरुको मागको विषयमा अध्यक्ष प्रचण्डलाई स्पष्ट पारिसकिएको जानकारी दिदै अझै पनि मागलाई बेवास्ता गरेर पेलेरै अघि बढ्ने नीति लिए चुप लागेर नबस्ने विकल्प खोजेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।
संविधानका विवादित विषयहरुमा सहमतिका साथ अघि बढ्नु पर्नेमा जोड दिँदै उहाँले सरकारले त्यस्को लागि समन्वय गर्न नसकेको र अन्य काममा समेत सरकार असफल भएको निष्कर्षमा आफूहरु पुगेको बताउनुभयो ।














प्रतिक्रिया