भक्तपुर । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले देशमा पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
क्रियाशील पत्रकार मञ्चको तेस्रो स्थापना दिवसको अवसरमा भक्तपुुरमा आयोजित पत्रकार आचारसंहिता विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले लाइसेन्सको व्यवस्था गर्न सकेमा गैरपत्रकारको संख्या स्वतः घट्ने बताउनुभयो ।
साना लगानीका पत्रिका र पत्रकारलाई बचाउन काउन्सिलले नीति बनाउने तयारी गरेको जानकारी दिँदै उहाँले पत्रकारिता गर्ने व्यक्तिलाई अवकाशको समयमा सरकारले राहत दिने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रेस स्वतन्त्रतालाई गलत रुपमा बुझ्दा आमसञ्चार माध्यममा समस्या आएको बताउँदै उहाँले पत्रकारले प्रेस स्वतन्त्रतालाई गलत रुपमा बुझ्न नहुने बताउनुभयो ।
पत्रकार आचारसंहिता पालना गरेर समाचार सम्प्रेषण गर्ने हो भने समाचारका क्षेत्रमा समस्या नआउने बताउँदै उहाँले पत्रकारले आचारसंहिताको अक्षरश पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
समाचार माध्यममा आएको दीलशोभा प्रकरणमा छानबिन प्रक्रिया सकेर प्रतिवेदन बुझाउने तयारीमा पुगेको बताउँदै उहाँले यसमा दोषी ठहरिएकालाई कारवाही अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा पत्रकार हरिबहादुर थापाले पत्रकारिता क्षेत्रमा दिइने कुनै पनि प्रकारको तक्मा, पुरस्कार वा सम्मान पत्रकारले लिन नहुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला विकास समिति भक्तपुरका स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले भक्तपुरमा केही वर्षयता पत्रकारिता क्षेत्रको व्यापक विकास भएको बताउँदै स्थानीय निकाय र पत्रकारिता क्षेत्र मिलेर अगाडि बढाउन सकेमा जिल्लाको विकासले काँचुली फेर्न सक्ने धारणा राख्नुभयो ।














प्रतिक्रिया