काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कुनै पनि हालतमा नेपाली भूमि छिमेकी मित्र राष्ट्र चीनकाविरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ ।
चीनको दक्षिण पश्चिमी प्रान्त युनानको राजधानी खुन्मीङमा प्रान्तीय कम्युनिष्ट पार्टीका प्रमुख छिन क्वानरोङसँग शुक्रबार रातिको भेटमा उहाँले नेपाल एक चीन नीतिमा दृढ रहेको समेत बताउनुभयो ।
चीनले युनान प्राप्तलाई नेपाल लगायत दक्षिण एसिया र पूर्वी एसियासँगको आर्थिक, सांस्कृतिक विकासमा सझेदारी गर्ने प्रमुख केन्द्रको रूपमा विकास गरेकोमा खनालले प्रशंसा गर्नुभयो ।
नेपाल र युनान प्राप्तको सांस्कृतिक एवं जातीय विविधता समान प्रकृतिको रहेको र युनानले कृषि र जलविद्युत् क्षेत्रमा हासिल गरेको चमत्कारिक प्रगतिको नेपालले पनि अनुसरण गर्न सकिने बताउनुभयो ।
भेटवार्तामा युनान प्रान्तका चिनिया कम्युनिष्ट पार्टीका प्रमुख छिन क्वानरोङले नेपाल र चीनबीच बलियो सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा झलनाथ खनाललाई धन्यवाद दिनुभयो । उहाँले यस्ता भ्रमणले नेपाल र युनान प्रान्तका बीच सहकार्य गर्ने बाटो बनाउन सहयोग गर्ने बताउनुभयो ।
१० दिने चीन भ्रमणमा रहेको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको टोली आज दिउँसो पूर्वी चीनको सान्दोङ प्रान्तको जीनानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।














प्रतिक्रिया