काठमाडौं । एनेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले नयाँ विचारसहितको नयाँ पार्टी छिट्टै बन्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. बाबुराम भट्टराई पक्षका नेता रायमाझीले नयाँ पार्टी बनाउन सबै शक्तिसँग छलफलले गति लिइरहेको खुलासा समेत गरे । नेताहरु पुराना रहेको, विचार संगठन, कार्यक्रम र योजना सबै पुरानो भएकाले नयाँ पार्टी निर्माणको अभियानमा डा.बाबुराम भट्टराईको नेतृत्वमा आफूहरु सक्रिय भएको रायमाझीले बताए ।
रायमाझीले देशलाई निकास दिने खाका वर्तमान नेतृत्वसँग नभएकाले नयाँ पार्टी अनिवार्य भएको तर्क गरे । ‘देशको आवश्यकता अनुसारको नयाँ पार्टी छिट्टै बन्छ,’ रायमाझीले भने, ‘नयाँ पार्टी रुपान्तरणसहितको नयाँ सिद्धान्त, विचार, संगठन, अनुहार, कार्यक्रम र योजनासहितको हुनेछ ।’
परिवर्तनको आवश्यकता भइरहने भन्दै देशले चाहे अनुरुपको रुपान्तरण एनेकपा माओवादीको विराटनगर सम्मेलनले गर्न नसकेकाले आफूहरु विकल्पमा जान बाध्य भएको स्पष्ट पारे ।
नयाँ शक्ति निर्माणका लागि आफू स्वयं विभिन्न दलका नेता, समाजका बौद्धिक र नेतृत्वदायी क्षेत्रमा रहेकाहरुसँग छलफलमा सक्रिय रहेको खुलासा समेत रायमाझीले गरे । एनेकपा माओवादीको संस्थापन पक्षप्रति कडा रुपमा प्रस्तुत भएका रायमाझीले विचार मिलेसम्म सँगै रहन सकिने र नमिलेपछि अलगहुने परिपाटी सामान्य र स्वाभाविक भएको बताए ।
एनकेपा माओवादीसँग कहिले अलग हुने भन्ने प्रश्नमा उनले भने, ‘तत्काल माओवादीभित्रै बसेर संघर्ष गर्छौं । तर, नयाँ शक्ति निर्माण अभियान रोकिदैन ।’
देशमा राजनीतिक ध्रुवीकरण तिव्र भएको उल्लेख गर्दै उनले नयाँ शक्ति बन्ने निश्चित भएको बताए । ४० प्रतिशत संविधानसभा सदस्य संख्या पुर्याउन नसकेर तत्काल नयाँ पार्टी बनाउने कदमलाई रोक्नुभएको हो ? भन्ने प्रश्नमा रायमाझीले भने ,‘पदका कुरा छाड्नुहोस्, प्रतिशतका कुरा पनि छाड्नुहोस्, आवश्यक पर्दा एक्लै जानेछौं ।’
आफूहरुका लागि सभासद् पद ठूलो नभएको तर देशको आवश्यकता अनुरुपको नयाँ शक्ति निर्माण महत्वपूर्ण भएको रायमाझीले बताए । माओवादी भित्रमात्र नभई देशभर रुपान्तण र परिवर्तन सहितको शक्तिको आवश्यकता महसुस भइरहेको रायमाझीको तर्क छ ।
देश र जनताको चाहनाअनुसार समयसापेक्ष परिवर्तनसहितको पार्टी गठन हुँदा नाम भन्दा विचार, योजना र कार्यक्रमले प्राथमिकता पाउने उनले स्पष्ट पारे । माओवाद छाड्नेबारे बहस अगाडि सारिएको समेत रायमाझीले बताए । नयाँ पार्टीमा कम्युनिष्ट नाम हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने,‘नाम भन्दा काम मुख्य हो ।’ आफूहरु रुपान्तरणसहितको माक्र्सवादको पक्षमा रहेको रायमाझीले स्पष्ट पारे ।
डा.बाबुराम भट्टराईको चीन भ्रमणमा राजनीतिक भेटहरु समेत हुने उनले बताए । भ्रमण निजी भए पनि राजनीतिक भेटघाट स्वाभाविक भएको उनको भनाइ थियो । भ्रमण नयाँ पार्टी निर्माणको अभियान अन्र्तगत हो भन्ने प्रश्नमा उनले भने,‘यसलाई निजी भ्रमणका रुपमा लिनुहोस् ।’
माओवादी अध्यक्ष प्रचण्डले पद त्याग गरे विवाद सुल्झन्छ ? भन्ने प्रश्नमा व्यक्ति विशेषमा भन्दा विचारमा संघर्ष भइरहेको बताए । आफूहरुले प्रचण्डको विकल्पमा अर्को अध्यक्ष हुनुपर्छ नभनेको रायमाझीले बताए । आफूहरु केन्द्रीय समितिमा आउने नआउने भन्दा पनिआवश्यकता महसुस गरी संघर्षमा गएको स्पष्ट पारे ।
नेतृत्व चयनको विधि, प्रक्रिया र मापदण्डमा मतान्तर भएको रायमाझीले खुलाए । भिन्न मतलाई सम्मान गर्न नसक्नेहरुबाट पार्टी एकढिक्का हुन नसक्ने उनले स्पष्ट पारे । बाबुरामलाई महत्वपूर्ण पदमा ल्याउन भूमिका खेलेर गल्ती गरिएछ भन्ने प्रचण्डको सार्वजनिक अभिव्यक्तिको आलोचना गर्दै रायमाझीले कसैको दयामायाले बाबुराम वा अरु कोही माओवादी नेता नबनेको बताए ।
उनले भने, ‘न कसैको दयाले प्रचण्डजी अध्यक्ष बन्नुभएको हो, न बाबुरामजी अहिलेको अवस्थामा पुग्नुभएको हो ।’ बाबुरामले क्षमता प्रदर्शन गरेर राजनीतिक उचाई हासिल गरेको उनको भनाइ थियो ।
एक अर्को प्रसङ्गमा रायमाझीले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीश नियुक्तिको सिफारिसप्रति असन्तुष्टि व्यक्त गरे । सिफारिसबारे प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले संसदीय समितिमा आएर स्पष्ट पार्नुपर्ने उनले बताए । सिफारिस गरिएका नाम फिर्ता हुनुपर्नेमा रायमाझीको जोड थियो ।














प्रतिक्रिया