६ कार्तिक २०८३, शुक्रबार

यसरी सुरु भयो म्याच फिक्सिङमा संलग्न पाँच खेलाडीलाई धरौटीमा छटाउने खेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

match_fixingकाठमाडौं, ११ कात्तिक । धरौटीमा छुट्ने सम्भावना राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ४ अनुसार प्रहरीले ५ खेलाडीहरूलाई २० दिन थुनामा राख्न म्याद मागेको छ ।

यो दफाअनुसार मुद्दा चलाइएमा अभियुक्तहरू धरौटीमा छुट्ने सम्भावना छ ।

राज्यविरुद्धको अपराध तथा सजाय ऐनको दफा ४ मा भनिएको छ– ‘कसैले स्वतन्त्र एवं अविभाज्य नेपालको सार्वभौमसत्ता, अखण्डता खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय वा कुनै आधारमा घृणा, द्वेष, अवहेलना उत्पन्न हुने कुनै काम–कारबाही गरे–गराएमा तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनेछ ।’

तीन वर्षसम्म कैद सजाय हुने मुद्दामा साधारणतः अदालतले अभियुक्तलाई धरौटीमा छाड्ने गरेको नजिर रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

त्यसैले खेलाडीहरू धरौटीमै छुट्ने सम्भावना छ । तर, राज्यविरुद्ध अपराध ऐनको दफा ३ अनुसार मुद्दा दायर गरेमा खेलाडीहरू जेल जाने सम्भावना हुन्छ ।

दफा ३ मा जन्मकैदसम्म हुने प्रावधान छ । दफा ३ मा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी, कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा १० वर्षसम्म कैद हुनेछ ।’

खेलाडीहरूले विदेशी बुकीहरूसँग मिली राज्यको प्रतिष्ठामा आँच आउने काम गरेकाले केही प्रहरीले यही दफाअनुसार मुद्दा चलाउनुपर्ने बताएका थिए ।

तर, मंगलबार दफा ४ अनुसार म्याद थप गरिएको छ । अनुसन्धान पूरा भएपछि सरकारी वकिल कार्यालयले कुन दफाअनुसार मुद्दा चलाउने भन्ने निर्णय गर्नेछ ।