काठमाडौं, १० कात्तिक । गणेशमान सिंह फाउन्डेसनले नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको स्मृतिमा ‘गणेशमान सिंह प्रजातन्त्र पुरस्कार’ स्थापना गरेको छ ।
फाउन्डेसनको कार्यकारी समितिले सर्वमान्य नेता सिंहको जन्मशताब्दी वर्षको अवसरमा सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रजातन्त्रको सम्वद्र्धन र मुलुकको समृद्धिका निम्ति अतुलनीय योगदान पुराएका व्यक्तिलाई यो पुरस्कारबाट सम्मानित गरिनेछ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको जन्म बिक्रम संवत १९७२ सालको कात्तिक २४ गते भएको हो । उहाँको जन्मशताब्दी वर्षको प्रारम्भ २०७१ सालको कात्तिक २४ गतेबाट सुरु भएर २०७२ साल कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।
जन्म शताब्दी वर्षका अवसरमा फाउन्डेसनलगायत विभिन्न संघसंस्थाले सिंहको स्मृतिमा वर्षभरि नै विविध कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
आधुनिक नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक गणेशमान सिंहलाई नै मानिन्छ । बिक्रम संवत १९९७ सालदेखि २०४६ सालको ऐतिहासिक जनआन्दोलनसम्मको नेपालको प्रजातान्त्रिक आन्दोलनलाई उहाँले नेतृतव गर्नुभएको थियो ।
राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना मात्र होइन, २०१७ साल पुस १ गते राजाबाट प्रजातन्त्रको अपहरणपछिको आन्दोलनलाई पनि परिणतिमा पुराएर प्रजातन्त्रको पुनःस्थापना गरिछाड्ने असंभव ठानिएको कार्य गणेशमान सिंहको नेतृत्वमा नै सम्भव हुन पुगेको फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैले गणेशमान सिंहको विश्व इतिहासमा दुई पटक निर्णायक आन्दोलनको नेतृत्व गरेर प्रजातन्त्रको स्थापना र पुनःस्थापना गर्ने दुर्लभ तथा एक्लो नेता मानिनुहुन्छ ।















प्रतिक्रिया