काठमाडौं, ८ कात्तिक । छिमेकी मुलुक चीनले नेपाललाई इन्धन दिनेपछि भारतलाई झट्का लागेको छ । खासगरि, भारतीय संचारमाध्यमहरुले चीनले नेपाललाई इन्धन सहयोग गर्न लागेको विषयले तरंग छाएको छ ।
आइतबार अधिकांश भारतीय राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनले चिनिया सहयोलाई प्राथमिकता दिँदै समाचार प्रकाशन–प्रशारण गरेका छन्। चीनले नेपाललाई इन्धन सहयोग दिएर खेल्न खोजेको कतिपय भारतीय मिडियाको आरोप समेत छ ।
भारतीय टेलिभिजन आर्इबीएन सेभेनले चीनले नेपाललार्इ इन्धन दिने नाममा भारतविरुद्ध नयाँ चाल चालेको बताएको छ । यति मात्रै होइन, चीनले भारतलार्इ घेर्न हिमालयको मुनिबाट १३ अर्ब डलर लगानीमा नेपालको राजधानीसम्म पुग्ने सुरूङ बनाउन लागेको आईबीएन सेभेनको दाबी छ । चीनले हिमालय मुनिबाट बन्ने सुरूङबाट रेल चलाउउन चाहेका कारण भारतलार्इ चिढ्याउने योजनामा लागेको भन्दै समाचारमा भनिएको छ – ‘ठूलो खर्च र धेरै जोखिम हुने हुँदा सुरूङ निर्माणको अन्तिम अनुमति मिलिसकेको छैन । यो सुरूङ बनेमा नेपालसम्म कुद्ने रेलले भारतलाई खतराको सिठ्ठी बजाउनेछ।’

भारतकै अग्रणीमध्येकै एक टाइम्स अफ इन्डियाले चीनबाट इन्धन ल्याएपछि नेपालमा इन्धन निर्यातको भारतीय एकाधिकार अन्त्य हुने जनाएको छ । मधेस आन्दोलनका कारण भारतले इन्धन पठाउन नसकेको भन्दै चीनबाट इन्धन ल्याउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले पहल गरिरहेको उसले जनाएको छ ।
यता, गल्फ टाइम्सले भारतको सहयोगमा मधेसमा मधेशी मोर्चाले आन्दोलन गरिरहे पनि मोर्चाका कार्यकर्ताहरूले भारतबाट भित्रेका गाडी समेत जलाएको समाचार छापेको छ । गल्फ न्यूजले भने भारतसँगमात्रै निर्भर पर्दा नेपाल चरम संकटमा परेको जनाएको छ ।
एनडीटिभीले पेट्रोलियम पदार्थसँगै नेपालले चीनबाट खाना पकाउने एलपी ग्यास ल्याउन गरिरहेको पहललार्इ समाचार बनाएको छ ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले चीनसँगको सीमाक्षेत्रको अवरोध खोली भारतीय नाकाबन्दीविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालले हालेको समाचारलार्इ इण्डियन एक्सप्रेसले प्राथमिकताका साथ प्रकाशित गरेको छ ।
भारतकै अर्को राष्ट्रिय पत्रिका नर्इदुनियाले चीनबाट इन्धन ल्याउन नेपालले कदम अघि बढाएको जनाएको छ ।
भारतले एक महिनादेखि अघोषित नाकाबन्दी जारी राखेकै बेला चीनले नेपाललार्इ १० लाख लिटर इन्धन दिन लागेपछि भारतीय मिडियामा तरंग छाएको छ । भारतीय मिडियाहरुले भारत सरकारलाई भन्दा पनि मधेशी मोर्चाकै बढी दोष देखाएका छन् । तर, मधेशी मोर्चाको आन्दोलनमा भने भारतीय सहयोग रहेको अधिकांश भारतीय मिडियाले खुलासा गरेका छन्।















प्रतिक्रिया