११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाको निशानामा पत्रकार, छानिछानी आक्रमण, हतियारसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

लहान, ७ कात्तिक । आन्दोलनमा प्रेस, मानवअधिकार, एम्बुलेन्स र वारुणयन्त्रलाई कुनै अवरोध नगर्ने मधेसी मोर्चाको पूर्व प्रतिबद्धताविरुद्ध समाचार सङ्कलनका क्रममा रहेका पत्रकारको समेत मोटरसाइकल आज तोडफोड भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले बिहान सिरहाको लहानस्थित सहिद रमेश महतो चोकनजिक स्थानीय ‘सौगात’ एफएम र ‘मधेसस्पेसल डट कम’मा कार्यरत पत्रकार फिरोज शेखको मोटरसाइकल तोडफोड गरेका हुन् ।

पत्रकारको सङ्केत देखिने पोसाक लगाएर बिहान समाचार सङ्कलन गर्न जानुभएका शेख चढेको स ६प ८ नंको मोटरसाइकल तोडफोड हुँदा मोटरसाइकलको भाइजर र हेडलाइट काम नलाग्ने गरी क्षतिग्रस्त भएको छ ।

‘पत्रकार हुँ भन्दाभन्दै जबर्जस्ती मोटरसाइकलमा प्रहार गरे’, शेखले भन्नुभयो, ‘मोटरसाइकल तोडफोड भएपछि मोर्चाको स्थानीय नेतृत्वले बनाइदिन्छौँ भन्ने आश्वासन दिएको छ ।’

मोर्चाले शुक्रबार बिहानदेखि नै लहान क्षेत्रमा माइकिङ गरी मोटरसाइकलसमेत चलाउन नदिने घोषणा गरेको थियो ।

आफूहरुको घोषणा उल्लंघन गरेको भन्दै मोर्चा सम्बद्ध कार्यकर्ताले आज लहानमा बा६७ प ७२४२ र बा६१प१४५० नंको मोटरसाइकलसमेत तोडफोड गरेका छन् ।

सिरहा सप्तरीको सीमाका रुपमा रहेको बलान नदीको पुलमा करिब एक सयको हाराहारीमा मोटरसाइकल रोकिएका छन् । तोडफोड र आगजनी हुन सक्छ भन्दै लहान प्रहरीले करिब दुई दर्जन मोटरसाइकल प्रहरी कार्यालयमा लगेर राखेको छ ।

हतियारसहित तीन पक्राउ

शङ्कास्पद अवस्थामा तीन जना चढेर आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्दा लुकाएर राखिएको रिभल्वर पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरीनायब निरीक्षक शिवनारायण यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले शुक्रबारराति ८ बजेतिर जिल्ला सदरमुकामसमेत रहेको सिरहाको सिरहा नगरपालिका–१ स्थित दुर्गामन्दिर नजिकबाट हतियारसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ का १८ वर्षीय सन्तोषकुमार मुखिया, वडा नं ८ का १७ वर्षीय राम यादव र अफरोज भनिने मोहमद तोहिद राइन छन् । रासस