मुम्बई । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा बन्दी जीवन विताइरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको जीवनीमा आधारित बलिउड फिल्म ‘मैँ और चार्ल्स’ छिट्टै रिलिजको तयारीमा छ । फिल्मको अन्तिम कार्य धमाधम जारी रहेको समाचारमा जनाइएको छ ।
विश्वभरि अपराधिक कार्यमा नाम कमाएका शोभराजको जीवनीमा बनेको यो फिल्ममा शोभराजको भूमिकामा बलिउड अभिनेता रणदीप हुड्डाले अभिनय गरेका छन् ।
फिल्ममा शोभराजले अपनाएका अपराधिक कार्य र जेलबाट भाग्न गरिएका प्रयास तथा शैलीको पनि दृश्याङ्कन गरिएको छ ।
फिल्ममा शोभराज कारागारबाट कसरी भाग्न सफल हुन्छन् र अपराध गर्छन् भन्ने विषयमा पनि रोचक शैलीमा समेटिएको समाचारमा जनाइएको छ ।
भारतमा रहेर गरेका अपराध र नेपालमा उनको कैदी जीवनका विषयमा पनि फिल्ममा देख्न पाइनेछ ।
हत्या अभियोगमा आजीवन कारावासको सजाय पाएका शोभराज काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा अत्याधिक कडा सुरक्षा घेराभित्र जीवन विताइरहेका छन् ।
उनको जीवनीलाई लिएर समय समयमा फिल्म र कितावहरू आइरहने गरेका छन् । उनको जीवनीलाई लिएर अन्तर्राष्ट्रिय डिष्कभरी च्यानलेसमेत डकुमेन्ट्री बनाइ सकेको छ ।
फिल्म ‘मैँ और चार्ल्स’मा चर्चित अपराधी चाल्र्स शोभराजको अभिनय गरिरहेका अभिनेता रणदीप हुड्डाले यो फिल्मले अपारधलाई बढावा नदिने प्रतिक्रिया दिएका छन् । उनले आफूद्वारा अभिनित सो फिल्मले चर्चा बटुल्ने दाबी गर्छन् ।
चार्ल्स शोभराजको अपराध गर्ने शैलीको फाइदा अभिनेता अमिताभ बच्चनले पनि उठाएको हुड्डाको भनाइ छ । शोभराजको अपराध गर्ने शैली र सम्वाद अभिताभले आफ्नो फिल्म ‘डन’मा प्रयोग गरिसकेको दाबी गरे ।
रणदीपले भनेका छन्, ‘अमित ज्यूको फिल्म ‘डान’को चर्चित सम्वाद ‘११ मुल्ककी पुलिस….’ चार्ल्स शोभराज कै निजी जिन्दगीबाट लिइएको थियो ।’
‘मैँ और चार्ल्स’मा शोभराजको भूमिकामा देखिन थालेका रणदीपले ‘चाल्र्स शोभराजका बारेमा १० वर्षको उमेरमा सुनेको थिए । र त्यही बेलादेखि नै म चार्ल्सलाई एकदमै ग्लैमरस व्यक्ति ठान्छु ।’
अभिनेता हुड्डाले ‘डान’को डायलगबाट नै आज पनि अमिताभ बच्चन उत्तिकै चर्चामा रहने गरेको बताए ।
शोभराजको जीवनीमा बनेको यो फिल्म शुभ साबित हुने उनको भनाइ छ । सन् २०१४ मा आफ्नो फिल्मी करियरमा रणदीपले थुप्रै हिट फिल्म दिएका थिए । – एजेन्सी















प्रतिक्रिया