काठमाडौं, ३ कात्तिक । विभिन्न राजनीतिक दल आबद्ध विद्यार्थी संगठनहरूले सरकारसँग जनताको कष्टकर दैनिकीलाई सहज बनाउन जारी कुटनीतिक पहलका अलावा बैकल्पीक बाटोबाट तत्काल इन्धन आपूर्तिको ठोस कदम चाल्न आग्रह गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका दर्जन विद्यार्थी संगठनका नेताहरूले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाइ जनताको कष्टकर दैनिकीलाई सहज बनाउन माग गरेका हुन् ।
‘छिमेकी मुलुकबाट अबरोध गरिएको भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकार सुरक्ष्ति गर्न नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गर्न माग गरेका छौँ’, ज्ञापनपत्रमा भनिएको छ, ‘जनताको कष्टकर दैनिकीको फाइदा उठाउँदै भइरहेको कालोबजारी नियन्त्रणको लागि अनुगमन र कारबाही गर्ने गरी प्रभावकारी कदम चल्न पनि माग गर्दछौँ ।’
जवाफमा प्रधानमन्त्री ओलीले अघोषित रुपमा लगाइएको नाकाबन्दी खुलाउने विषयमा सरकार गम्भीर रहेको बताएका नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री केपी ओलीले विद्यार्थी संगठनहरूको माग र अघोषित नाकाबन्दी तथा बैकल्पीक आपूर्ति व्यवस्था मिलउने विषयमा आश्वासन दिनुभएको छ’, प्रवक्ता लामिछानेले बताउनुभयो ।
विद्यार्थी संगठनहरूले मुलुकमा पेट्रोलियम पदार्थ, इन्धनको उत्पादन, आपूर्ति र भण्डारणको दीर्घकालीन रणनीति बनाइ तत्काल काम सुरू गर्न पनि सरकारसँग माग गरेका छन् ।
‘नेपालको संविधान जारी भएसँगै तराई मधेसलगायतका क्षेत्रमा देखा परेका जनताको असन्तुष्टि र आन्दोलन तथा त्यसलाई निहुँ बनाएर नेपालको आन्तरिक मामिलामा छिमेकी मुलुक भारतले हस्तक्षेप मुलतः लामो समयदेखिको अघोषित नाकाबन्दीको कार्यले देश गम्भीर संकटको अवथाबाट गुज्रिएको छ’, विद्यार्थी संगठनहरूले भनेका छन्, ‘दसैँ, तिहार, छठ, ल्होसार, इद नेपाल सम्वतलगायत जनताका महान चाड र संस्कृति पर्वहरूका बेलासमेत जनताको चुलोदेखि सडकसम्म चौपट्ट बनेको छ ।’
‘नेपाली जनताको स्वाभीमान र राष्ट्रिय भावनाको सम्मान गर्न लायक छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘तर हामी जनताको यो धैर्यताको बाँध टुट्न नदिन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’
ज्ञापनपत्रमा हस्ताक्षर गर्नेमा अनेरास्ववियका अध्यक्ष किशोरविक्रम मल्ल, अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, नेविसंघका प्रवक्ता यूपी लामिछाने, अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंह, मधेसी विद्यार्थी फोरमका अध्यक्ष कप्लेश्वर यादव, अखिल पाँचौँका अध्यक्ष घनश्याम मिश्र, अखिल छैठौँका अध्यक्ष अनिलकिशोर घिमिरे, राप्रविसंघ, नेपालका उज्ज्वल पोखरेल, ने.क्रा.वि.संघका अध्यक्ष निरज लबजु, अखिल नेपाल विद्यार्थी फेडरेशनका अध्यक्ष प्रवीण मिश्र र राप्रविसंघका महासचिव धनसुर शाही रहेका छन् ।













प्रतिक्रिया