काठमाडौँ, ३ कार्तिक । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि काँग्रेसले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आफ्नै निवास महाराजगञ्जमा गरेको विशेष साक्षात्कारमा कोइरालाले भन्नुभयो, ‘तपाईँहरु ढुक्क हुनुस, काँग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन्छ । लोकतन्त्रको सस्थागत विकास र संविधानको कार्यान्वयनको लागि पनि उम्मेदवारी दिनु अपरिहार्य छ । हामी अहिले छलफलमा छौँ, पार्टीले निर्णय गरेर उपयुक्त पात्रलाई उम्मेदवार बनाउँछौ ।’ तर, आफै राष्ट्रपतिको उम्मेदवार बन्ने या नबन्ने भन्ने बारेमा भने उहाँले केही बताउनु भएन ।
साक्षात्कारमा कोइरालाले प्रधानमन्त्री निर्वाचनमा पनि पार्टीले उम्मेदवार बनाएकोले आफू उम्मेदवार बनेको स्पष्ट पार्दै आफ्नो उम्मेदवारी लोकतन्त्र र मधेस आन्दोलनको पक्षमा भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेसले उम्मेदवारी दिएकै कारण आन्दोलनमा रहेका मधेसवादी दलहरु निर्वाचनमा सहभागी भए । यसले समस्या समाधानको बाटो खुलेको छ । अब समस्या समाधान भएर जान्छ ।’
उहाँले थप्नुभयो, ‘सहमतिको कुरा ठीक हो, त्यो हामी पनि चाहन्छौँ तर प्रजातन्त्रको सुन्दरपक्ष पनि त हो नि प्रतिष्पर्धा ।’
कोइरालाले फेरि मुलुक द्वन्द्वमा गयो भने नेपाल रहन्छ कि रहदँैन भन्ने आशंका रहेको उल्लेख गर्दै तत्काल सरकारले मधेसको समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले ल्याएको संविधान संसोधन विद्येयकलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
सरकारले गठन गरेको बार्ता समितिमा काँग्रेस नबस्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले मलाई काँग्रेसको तर्फबाट बार्ता टोलीमा सहभागिता हुनुपर्यो भन्नु भएको थियो । तर काँग्रेस त्यसमा सहभागी हुँदैन । मैले प्रधानमन्त्रीलाई काँग्रेस समितिमा सहभागि हुँदैन बाहिरबाट गर्ने सहयोग गर्छौँ भनेर भनेको छु ।’
पछिल्लो समयमा नेपालमा आपूर्तिमा देखिएको समस्याको विषयमा राखिएको जिज्ञासामा कोइरालाले आफूहरु सरकारमा बस्दा वा नबस्दा बोलीमा फरक नहुने भन्दै कुटनीतिक तवरबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीहरु नाकाबन्दी भन्छौँ, उहाँहरुले रोकेको छैन, तपाईहरुकै कारण भएको हो भन्नुहुन्छ । मैले भारतीय राजदुतलाई बोलाएर भनेको थिएँ, यो नराम्रो स्थिति भयो नाका खोल्नु पर्यो भन्दा उहाँले पनि त्यस्तै भन्नुभयो । नेपाल–भारत सम्बन्धमा समस्या छ, यसलाई कुटनीतिक तवरले समाधान गर्नुपर्छ ।’













प्रतिक्रिया