काठमाडौँ, १३ असार । नेकपा एमालेको नवौँ महाधिवशेन आउन केही दिन मात्र बाँकी रहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समूहबीच प्रतिनिधि तानातानको होड चल्न थालेको छ ।
आ–आफ्नो पक्षलाई वलियो र प्रभावशाली देखाउन ती दुबै समूहका नेताले विभिन्न जिल्लामा राम्रो प्रभाव भएका नेतालाई पनि आफ्नो पक्षमा देखाउन थालेका छन् ।
पदाधिकारी र स्थायी समितिमा आफू निक्कै वलियो रहेको दाबी गर्ने ओली समूहले आफ्नो पक्षमा करिव ७० प्रतिशत प्रतिनिधि रहेको र जित सुनिश्चित रहेको तर्कसहित विभिन्न जिल्लाका प्रभावशाली नेतालाई आफूतिर तान्न थालेको छ ।
यता नेपाल समूहले पनि पछिल्लो समयमा नेपालका पक्षमा भारतमा आएको मोदी लहर जस्तो लहर आएको भन्दै जिल्लामा पकड भएका नेता र प्रतिनिधि तान्न थालेको छ ।
लामो समय आफ्नै समूहमा रहेर काम गरेका नेताहरु प्रदीप नेपाल, मुकुन्द न्यौपानेलगायतका नेतालाई पहिल्यै गुमाइसकेका नेता नेपालले पछिल्लो समय सेती अन्चल इन्चार्ज भानुभक्त जोशीलाई पनि गुमाएका छन् । नेपाल पक्षका जोशी अहिले ओली कित्तामा पुगेका छन् । ओली निवासमै पुगेर जोशीले समूह परिवर्तनको जनाउ दिएका हुन् ।
ओली समूहबाट नेपाल समूहमा सर्नेको पनि कमी छैन् । सचिव बिष्णु पौडेलका नजिक मानिने रुपन्देही जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ अहिले सुटुक्क नेपाल समूहमा भित्रिएको चर्चा छ । ओलीनिकट रहँदै आएका रामेछाप जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल पनि अहिले नेपाल समूहमा भित्रिएका छन् ।














प्रतिक्रिया