बेलौरी (कञ्चनपुर), १ कात्तिक । एक वर्षको अवधिमा यहाँका छ महिलामा पाठेघरको मुखको क्यान्सर देखापरेको छ ।
नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार पटक पटक गर्भपतन, यौनरोग आदि कारणले गर्दा महिलाको पाठेघरमा क्यान्सरले समात्ने गरेको हो ।
सङ्घ कञ्चनपुरका वरिष्ठ शाखा प्रवन्धक शिवसिंह बलायरले ३०० महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएको उल्लेख गर्दै क्यान्सर रोगीलाई अस्पतालमा जान सुझाव दिइएको बताउनुभयो ।
“दुई जना महिला काठमाडौँ उपचार गरेर घर फर्किसके, चार जना सम्पर्क बाहिर छन्”–उहाँले भन्नुभयो, “समयमै उपचार गरेर यो रोग निको हुन्छ ।” रु ५ मा जाँच गर्न सकिने उक्त सेवा विपन्न, भूमिहीन, एचआइभी पीडित, अपाङ्ग, लैङ्गिकहिंसा पीडितलाई निःशुल्क प्रदान गरिन्छ ।
सङ्घ कञ्चनपुरका अध्यक्ष गोरखबहादुर सिंहले सङ्घले ६४ प्रतिशत वार्षिक प्रगति लक्ष्य हासिल गरेको बताउनुभयो । जनचेतना अभावका कारण मानिसको स्वास्थ्यलाई बिगारिरहेको भन्दै स्वास्थ्यका लागि सचेत हुनुपर्ने अध्यक्ष सिंहको सुझाव छ । सङ्घले एम्बुलेन्स सहित गर्भपतनलगायत सेवा प्रदान गर्दै आएको छ । रासस
















प्रतिक्रिया