चितवन, १ कात्तिक । चितवनमा सरकारी कार्यालय तथा स्थानीय निकायले नै हुलाक सेवा प्रयोग नगर्ने गरेको पाइएको छ ।
हुलाक कार्यालयका निमित्त प्रमुख श्रीकृष्ण नेपालले चितवनको जिविस, भरतपुर उपमहानगरपालिका, महिला विकास कार्यालय कोष तथा लेखा नियन्त्रण कार्यालयलगायत कार्यालयले हुलाक सेवा प्रयोग नगर्ने गरेको बताउनुभयो ।
नियममा सामान्य र रजिष्ट्रिका पत्रहरु हुलाकमार्फत नै पठाउनुपर्ने भए पनि ती कार्यालयले लामो समयदेखि नै नपठाएको नेपालले उल्लेख गर्नु भयो ।
चितवन प्रशासनलगायत कार्यालयले भने नियमित पठाइरहेको उहाँको भनाइ छ । सामान्य रुपमा मात्रै हुलाकको सेवा उपयोग गर्नेमा शिक्षा कार्यालय, तथ्याङ्क कार्यालय, नापी, मालपोत, जनस्वास्थ्य कार्यालय रहेका छन् ।
ती कार्यालयले पनि पूर्ण रुपमा हुलाक सेवा प्रयोग गर्ने गरेका छैनन् । जिल्लामा ४० भन्दा बढी सरकारी कार्यालय छन् ।
केही औँलामा गन्न सकिने संस्थाले मात्रै सेवा प्रयोग गरिरहेका छन् । व्यक्तिले त हुलाक सेवा प्रयोग गरिरहेको अवस्थामा राज्यका अङ्गले नै प्रयोग नगर्नु विडम्बना भएको कार्यालयले जनाएको छ ।
यसले हुलाक सेवामा विश्वास नभएको जस्तो देखिएको छ । मध्य क्षेत्र प्रहरी तालिम केन्द्रले समेत तीन चार महिनादेखि हुलाक सेवा प्रयोग नगरेको पाइएको छ ।
सो विषयमा जिविसले भने आफ्नो आधिकारिक मेलबाट समेत पठाउन सकिने भएकाले आफूहरुले कार्यालयकै मेल प्रयोग गर्ने गरिएको बताएको छ । कार्यालयका सूचना अधिकृत बलराम लुइँटेलले ढिला पुग्ने भएकाले पनि अहिले समस्या परेको बताउनुभयो ।
सर्वसाधारणको चिठीपत्रसमेत न्यून आउने गरेको कार्यालयले जनाएको छ । तर केही महत्वपूर्ण सेवा भने प्रभावकारी हुँदाहुँदै ओझेलमा परिरहेको हुलाक कार्यालय चितवनले जनाएको छ । रासस















प्रतिक्रिया