काठमाडौं, १ कात्तिक । कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले अरु दलले आफूहरूलाई शिक्षा दिन आवश्यक नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कांग्रेसलाई अरु दलले शिक्षा दिने होइन र अरुको शिक्षा आवश्यक पनि छैन ।’
आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै डा.महतले कांग्रेसलाई एमालेले राजनीतिक विषयमा शिक्षा दिन नमिल्ने बताउनुभयो ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा भद्र सहमति तोडेको विषयमा गल्ती स्वीकार गरे राष्ट्रपतिमा समर्थन गर्न सक्ने भनेर अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यक्तिपछि कांग्रेसका नेताहरू एमालेसँग भड्किएका छन् ।
प्रधानमन्त्री केपी ओलीले कांग्रेस सरकारमा सहभागी हुने भनेर दिएको अभिव्यक्तिलाई पनि हावादारीको संज्ञा दिनुभएको छ । ‘कांग्रेस सरकारमा जाने कुनै पनि सम्भावना छैन’, उहाँले भन्नुभयो, ‘यस्ता अभिव्यक्ति राजनीतिक अभिव्यक्ति हुन् । कांग्रेस सत्तामा जाने कुनै पनि प्रकारको संभावना छैन ।’
ओलीले कांग्रेस पनि सरकारमा सहभागी हुने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । त्यसको डा.महतले खण्डन गर्नुभएको छ ।
उहाँले कांग्रेस ठूलो पार्टी भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउनुभयो । ‘कांग्रेस ठूलो पार्टी हो’, उहाँले भन्नुभयो, ‘राष्ट्रपतिमा सबैले समर्थन गर्छन् भन्ने आशा छ । राजनीतिमा सम्भावना हुन्छ ।’
पहिला पनि अंकगणित थोरै संख्या रहे पनि राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारले जितेको बताउनु भएका केन्द्रीय सदस्य महतले भन्नुभयो, ‘यस पटक पनि आशा छ हामीलाई राष्ट्रपतिमा सबै दलको सहयोग हुन्छ ।’
कांग्रेस नेता महतले आफू राष्ट्रपति पदका लागि इच्छुक नरहेको पनि बताउनुभयो । ‘पहिला पनि मलाई गिरिजाप्रसाद कोइरालाले राष्ट्रपतिमा उम्मेदवारी दिन भन्नुभएको थियो’, उहाँले भन्नुभयो, ‘तर मैले मानिन्, यस पटक पनि मलाई राष्ट्रपतिमा कुनै चाहना छैन ।’












प्रतिक्रिया