सुरुङ्गा (झापा), ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृह जिल्ला झापामा नागरिक अभिनन्दन गरिने भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहनुभएका ओली सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि पहिलो पटक झापाको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेको खुसियालीमा झापावासीले उहाँलाई नागरिक अभिनन्दन गर्न लागेको नेकपा (एमाले) झापाले जनाएको छ । उहाँलाई आगामी कात्तिक ४ गते अग्रसेन भवन बिर्तामोडमा नागरिक अभिनन्दन गर्न लागिएको नेकपा (एमाले) झापाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नागरिक अभिनन्दन समारोहमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तथा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलसहित झापाका सबै सांसदको उपस्थिति रहने पार्टीले जनाएको छ ।
यसैबीच, एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य राम कार्कीले दसैँलाई विवादको बहसमा तान्न नहुने धारणा व्यक्त गर्नुभएको छ ।
एनेकपा (माओवादी) को बिर्तामोड नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कार्कीले दसैँ परापूर्वकालदेखि मानिँदै आएको चाड भएकाले यसलाई मनाउने क्रममा विवाद गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष धर्मशिला चापागाईं, नेकपा (एमाले)का बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसार्इं, नेपाली काँग्रेस बिर्तामोडका नगर सभापति भोजराज सिटौला, पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस















प्रतिक्रिया