११ कार्तिक २०८३, बुधबार

कर्मचारीको गल्तीले गणेशप्रसादको उमेर १७६ वर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ३० असोज । जिल्लाको दक्षिणी गाविस खोटाङबजार–७ का गणेशप्रसाद गेलाल उमेरले ७६ वर्ष पुग्नुभयो । जन्मेको मितिलाई आधार मान्ने हो भने गाविसमा उहाँभन्दा अन्य ज्येष्ठ नागरिक पनि छन् ।

तर उहाँको नागरिकतामा उल्लेख भएको जन्म मितिलाई आधार मान्ने हो भने गाविसमा मात्र नभएर विश्वकै ज्येष्ठ नागरिकमा उहाँको नाम पर्न सक्छ ।

२०४२ सालमा जारी भएको गेलालको नागरिकतामा जन्ममिति १८९६ साल कात्तिक ४ गते उल्लेख छ । टोलीका कर्मचारीबाट १९९६ साल उल्लेख गर्नुपर्ने ठाउँमा १८९६ साल उल्लेख हुन पुग्दा गेलालको उमेर १७६ वर्ष पुगेको पाइएको गाविस सचिव गोविन्द पराजुलीले बताउनुभयो ।

नागरिकता वितरणका लागि खटिएका टोलीका कर्मचारीको गल्तीका कारण गणेशप्रसाद सबैभन्दा ज्येष्ठ नागरिक बन्न पुगेका हुन् ।

छिमेकी टीकाराम राईका अनुसार गल्ती गणेशप्रसादको आफ्नो होइन, कमजोरी नागरिकता प्रमाणपत्रमा लेख्ने कर्मचारीको हो । सामाजिक सुरक्षा भत्ता थाप्न पनि छिटो भयो ।

तर, त्यसका कारण सिर्जित प्रश्नको झटारोको सामना गर्न बाध्य छन् गेलाल परिवार । कान कम सुन्ने गेलाल र कर्मचारीबीचको ‘सञ्चार ग्याप’ का कारण नागरिकतामा गलत जन्ममिति उल्लेख हुन पुगेको स्थानीयको अनुमान छ ।

गेलाल परिवारले नागरिकता सच्याउनका लागि आवेदन दिए सच्याउन सकिने गाविस सचिव पराजुली बताउँछन् ।

गत वर्ष गाविसका ज्येष्ठ नागरिकलाई सम्मान गर्नेक्रममा गणेशप्रसादको नामलाई लिएर केही विवादसमेत भएको थियो । गाविसमा खास जन्ममितिका आधारमा सम्मान पाउने अरु वृद्धवृद्धा थिए । नागरिकता र प्रमाणका आधारमा सम्मान पाउने गेलाल भएका थिए ।

सामाजिक सुरक्षा भत्ताकै लागि आवेदन दिएपछि मात्र गेलाल वास्तविक उमेरभन्दा सय वर्ष जेठो बनेको खुलासा भएको थियो । “उहाँले जन्ममिति सच्याउन चाहेर निवेदन दिए सच्याउन सकिन्छ, गल्ती सच्याउनुनै राम्रो हो”–गाविस सचिव पराजुलीले भन्नुभयो ।