११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाले पर्सामा खाद्य उद्योगमा लुटपाट गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rice Chamala nepalपर्सा, ३० असोज । बन्द अवज्ञा गरेको भन्दै पर्साको बहुअर्वाभाठा गाविस–७ मा रहेकोे श्री गणेश खाद्य उद्योगमा आज बिहान आन्दोलनकारीको एक समूहले तोडफोड गरी धान लुटेर लगेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दलाई अवज्ञा गरी उद्योगले रातिराति चामल बिक्री गरेको भन्दै आन्दोलनकारीले खाद्य उद्योगमा तोडफोड गर्नुको साथै १५० बोरा धानसमेत लुटी लगेको प्रहरीले जनाएको छ ।

खाद्य उद्योगको कार्यालय, भान्सालगायतको स्थानमा तोडफोड गर्दै गोदाममा राखिएको धानलाई आन्दोलनकारीले साइकल प्रयोग गरी लुटी लगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवेन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँले उद्योगमा भइरहेको लुटपाटलाई नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारीले प्रहरीलाई लक्षित गर्दै ढुङ्गा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन १९ राउण्ड हवाई फायर गर्नुपरेको बताउनुभयो ।

भिडलाई तितरबितर पार्न सशस्त्र प्रहरीको तर्फबाट सानो तथा ठूलो हतियारबाट १५ राउण्ड र नेपाल प्रहरीले चार राउण्ड हवाई फायर गरेको प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।

आन्दोलनकारीले उद्योगभित्र रहेको सामान तोडफोड गरेपछि गोदाममा राखिएको धानको बोरा साइकलमा लोड गरी लगेको उद्योगका कर्मचारी जाकिर हुसैनले बताउनुभयो ।

उहाँले आन्दोलनकारीको आक्रमण तथा लुटपाटबाट रु ६० देखि ७० हजार बराबरको धनमाल क्षति भएको बताउनुभयो ।

उद्योगबाट लुट्नका लागि साइकलमा लोड गरिएको दर्जर्नौ बोरा धान खेत, सडक र नजिकैको विभिन्न स्थानबाट बरामद गरी उद्योगमा राखेको प्रहरीले जनाएको छ । स्थिति हाल नियन्त्रणमा रहेको र घटनामा संलग्न रहेकाको खोजी भइरहेको प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।