काठमाडौं, २७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न बसेको एमाओवादी स्थायी समितिको बैठकमा चर्काे विवाद भएको छ ।
सबै नेताहरुले सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राखेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा दिनभरी बसेको बैठक विना निष्कर्ष सकिएको हो । बैठकमा सबै नेताहरुले उपप्रधान तथा गृहमन्त्री आफूले पाउनुपर्ने अडान राखेका थिए ।
बैठकमा एमाओवादी नेताहरु टोपबहादुर रायमाझी, जनार्दन शर्मा र नन्दकिशोर पुन पासाङले उपप्रधानमन्त्री र गृहमन्त्री आफूले पाउनुपर्ने दाबी गरेका थिए । तीनै नेता आफ्नो अडानमा टसको मस नभएपछि प्रचण्डले कुनै निर्णय लिन सकेनन् ।
यस्तै, भागवण्डामा सभामुख पाएको एमाओवादीले त्यसका लागि महासचिव कृष्णबहादुर महरालाई प्रस्ताव राखेखेको थियो । तर, महराले आफू सभामुख नहुने प्रतिक्रिया दिएपछि वर्तमान उपसभामुख ओनसरी घर्तीलाई सभामुख बनाउनुपर्ने बैठकमा प्रस्ताव आयो । ओनसरीलाई सभामुख बनाउनेमा पार्टी अध्यक्ष प्रचण्ड पनि सकारात्मक देखिएको बैठकमा सहभागी एक नेताले दैनिक नेपाललाई बताए ।
यसैबीच मन्त्री र सभामुखको टुङ्गो एमाओवादी बैठक विहीबार विहान फेरि बस्ने भएको छ ।












प्रतिक्रिया