काठमाडौं, २७ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् गठनका विषयमा व्यवस्थापिका संसदलाई जानकारी गराएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रलाई जेष्ठ संसद सदस्य लक्ष्मण राजवंशीले पढेर सुनाउनुभएको संसद सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्रमा प्रधानमन्त्री खड्गप्रसाद ओली निर्वाचित भइ राष्ट्रपतिबाट शपथ लिएर कार्यभार सम्हालेको उल्लेख छ ।
त्यसै गरी, उपप्रधानमन्त्री र भौतिक योजनामन्त्रीमा विजय गच्छदार, उपप्रधानमन्त्री तथा गृहमन्त्री कमल थापाले शपथ लिएको जनाइएको छ । अग्नि खारेल न्याय तथा कानुन, सत्य नारायण मण्डल विनाविभागीय, हरिबोल गजुरेल कृषि, रामकुमार सुब्बा विनाविभागीय, मेघराज नेपाली (निसाध) विनाविभागीय राज्यको नाम पढेर सुनाइएको थियो ।
सभामुख र उपसभामुखको निर्वाचन
यसैबीच, सभामुख र उपसभामुखको निर्वाचनका लागि कार्यक्रम अगाडि बढाउने संसदले निर्णय गरेको छ । त्यसका लागि सहमतिमा सभामुख र उपसभामुख चयन गर्नेभए भोलि असोज २८ गतेका लागि संसदको बैठक बोलाइएको छ । बैठक तीन बजे बस्नेछ । यदि भोलि २८ गते सहमतिमा नभए पर्सी २९ गते अपरान्ह तीन बजे मतदानको कार्यक्रम राखिएको छ । सरकार गठनका बेला एमालेको गठबन्धले सभामुखमा एमाओवादी र उपसभामुखमा राप्रपा नेपाललाई दिने सहमति गरेको नेताहरूको भनाइ छ । उता प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि सभामुख र उपसभामुख पदमा उम्मेदवारी दिने जनाएको छ ।
पूर्व सभासद गुरुङप्रति शोक प्रस्ताव पारित
यसैबीच, संसद बैठकले राप्रपा नेपालका तर्फबाट पहिलो संविधानसभा २०६४ मा समानुपातिकका तर्फबाट सभासद रहनुभएका चन्द्रबहादुर गुरुङप्रति शोक प्रस्ताव पारित गरेको छ । गुरुङको ६२ वर्षको उमेरमा असोज १६ गते शनिबार अमेरिकाको कोलोराडोमा निधन भएको थियो । उहाँको मंगलबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।












प्रतिक्रिया