३० आश्विन २०८३, शुक्रबार

मध्यराति प्रहरी चौकीमा भीषण आक्रमण, २२ प्रहरी मारिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Afghanistanलास्कार घा (अफगानिस्तान) २७ असोज । अफगानिस्तानको दक्षिणी प्रान्तको नव जात जिल्लाको एक प्रहरी चौकीमा मङ्गलबार राति भएको तालिवान आक्रमणमा परी कम्तीमा पनि २२ जना प्रहरी मारिएको आशङ्का गरिएको समाचार छ ।

प्राप्त समाचारअनुसार सो प्रहरी चौकीमा मध्यरात पारेर तालिवानहरुले हमला गरेका थिए । उक्त हमलाका लागि दर्जनौँ तालिवान आएको प्रहरीले जनाएको छ ।

मध्यरातमा आएका तालिवानहरुले हेल्माण्ड प्रान्तको सो जिल्लाको प्रहरी जाँच चौकीमा अन्धाधुन्ध गोली प्रहार गरी हमला गरेका थिए ।
प्रतिकारका क्रममा २२ जना प्रहरी मारिएको आशङ्का प्रहरीले गरेको छ । सो चौकीमा रहेका अरु सात जना प्रहरी बेपत्ता रहेका पनि बताइएको छ ।

उक्त आक्रमणमा परी आक्रमणका लागि आएका कम्तीमा पनि ३५ जना तालिवान नै मारिएको प्रहरी स्रोतको दाबी छ । तर सो समाचारको पुष्टि भने हुन सकिरहेको छैन ।

साथै दर्जनौँ तालिवान घाइते भएका पाइएको पनि समाचारमा जनाइएको छ । आक्रमणका क्रममा तालिवानहरुले अत्याधुनिक हातहतियारहरु ल्याएर आएको पाइएको छ ।

उक्त प्रान्तको प्रान्तीय राजधानीबाट उत्तरतर्फ क्वालमी कारिज भन्ने स्थानमा रहेको सो प्रहरी चौकीमा यसअघि पनि तालिवानहरुले पटक पटक आक्रमणको प्रयास गरेका थिए ।

प्रान्तीय प्रहरीका प्रमुख ओमार जवाकले सो घटनाको पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभएको छ– सो घटनाबाट कैयौँ प्रहरी र तालिवान मारिएका छन् तर सम्पूर्ण समाचार आइसकेको छैन ।

प्रहरी चौकीलाई घेरामा हालेर उनीहरुले हमला थालेका थिए । तर घन्टौँसम्म प्रहरी र तालिवानतर्फ दोहोरो भिडन्त भएको थियो । रासस/सिन्ह्वा