१ कार्तिक २०८३, शनिबार

राजेन्द्र महतोको चेतावनीपछि ‘नाकाबन्दी’को निर्णय गायब !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha

– विमल योगी

काठमाडौं, २६ असोज । आफूहरूले राखेका माग राजनीतिक र संवैधानिक रुपमा सम्बोधन नहुँदासम्म संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाबन्दीसहितको आफ्नो आन्दोलनका कार्यक्रम यथावत रहने दोहर्‍याएको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको मधेसी मोर्चाको बैठकपछि आज नयाँबानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा नाकाबन्दी र आमहड्तालको कार्यक्रम यथावत रहेको जनाएको हो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूका माग संवैधानिक रुपमा सम्बोधन नभएसम्म सबै कार्यक्रम यथावत रहेको बताउनुभयो ।

‘हाम्रा माग संवैधानिक रुपमा पूरा नहुँदासम्म आन्दोलन जारी छ’, उहाँले भन्नुभयो, ‘आन्दोलनलाई झन् सशक्त बनाउँछौँ ।’ उहाँले आफूहरूका विरुद्ध चलाएको भ्रमका पछि नलाग्न सबैलाई आह्वान गर्नुभएको छ ।

एमालेको नेतृत्वमा बनेको सरकार कनै नीति, योजना र दिशा विहीन रहेको बताउनुभएका संघीय फोरम समाजवादी फोरमका अध्यक्ष यादवले भन्नुभयो, ‘घोर दक्षिणपन्थी, राजावादी, अबसरवादी र उग्रवामपन्थीबीचको गठबन्धले केही गर्न सक्दैन ।’ उहाँले केपी ओली नेतृत्वको सरकारको आलोचना गर्दै अवसरवादीहरूको सरकारसँग आफूहरूलाई कही भन्नु नरहेको बताउनुभयो ।

कांग्रेसलाई प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेकोमा कुनै पश्चाताप नरहेको अध्यक्ष यादवले बताउनुभयो । ‘संसदीय व्यवस्था र सर्वोच्च अदालतको गरिमा तथा संसदको नियमावलीको सम्मान गर्न प्रधानमन्त्री निर्वाचनमा सहभागी भएका हौँ’, उहाँले भन्नुभयो, ‘हामीले संविधानसभा बहिष्कार गरेका हौँ । संसद कहिल्यै पनि छाडेका छैनौँ ।’

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको आन्दोलनमा भारतको कुनै भूमिका नरहेको बताउनुभयो । नेपाली जनताको सहयोगमा आन्दोलन चलेको बताउनुभएका अध्यक्ष ठाकुरले भन्नुभयो, ‘हाम्रो आन्दोलनमा भारतीयको सहयोग देख्नु सरासर गलत हो ।’ उहाँले अहंकारी शासकविरुद्ध लामो समयदेखि लड्दै आएको बताउँदै आफूहरूको आन्दोलन कुनै जाति वा व्यक्तीविरुद्ध नरहेको बताउनुभयो ।

यसैबीच, मधेसी मोर्चाले दसैँको विदाभरि नाकाबन्दी र आमहड्तालको कार्यक्रमलाई संशोधन गर्ने तयारी गरेको थियो । तर अचानक पत्रकार सम्मेलनमा आन्दोलन फिर्ता नभएको जानकारी दिइयो ।

सोमबारको बैठकमा सहभागी नभएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको दवावमा नाकाबन्दी फिर्ता लिने कार्यक्रमलाई यथावत राखिएको स्रोतले जनाएको छ । मधेसी मोर्चाले कात्तिक ३ देखि ९ गतेसम्म नाकाबन्दी र आमहड्तालको कार्यक्रमलाई फिर्ता लिएर भन्सार नाका र राजश्व कार्यालयमा शान्तिपूर्ण जनअवज्ञा गर्ने कार्यक्रम राखेका थिए ।

मधेसी मोर्चाले आफ्नो आन्दोलनमा संशोधन नगरेर यथावत राख्नुलाई रहस्यका साथ हेरिएको छ ।

पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका अधयक्ष विजय गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको सहभागिता रहेको थियो ।