काठमाडौँ २६ असोज । नेपाल आयल निगमले उपत्यकामा आज मंगलबार एक दिनका लागि सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल–डिजेल वितरण गर्न लागेको छ ।
उपत्यकामा रहेका करिब १२५ पम्पले मङ्गलबार दिउँसो १२ बजेबाट निजी सवारीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले निगमले इन्धन उपलब्ध गराउन लागेको हो ।
दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी अर्को निर्णय नहुन्जेलसम्म निजी सवारी साधनलाई मङ्गलबार मात्रै इन्धन उपलब्ध गराइने व्यवस्था मिलाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति हेर्ने उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।
केही दिनयता भारतबाट पेट्रोलियम पदार्थको आपूर्तिका सम्बन्धमा उहाँले नेपालको भन्सार नाकासम्म पेट्रोलियम पदार्थ सहजरुपमा नआएसम्म आपूर्ति सामान्य हुँदै गएको भन्न नमिल्ने बताउनुभयो । भारतले अघोषित नाकाबन्दी लगाएर आयात रोकेपछि दुई साता अगाडिदेखि आयल निगमले निजी सवारीलाई इन्धन वितरण गर्न रोकेको थियो ।
उहाँले उपभोक्ताले सवारीसाधनको दर्ता किताब (बिलबुक) साथमै लिएर आई इन्धन भर्नुपर्ने अवगत समेत गराउनुभयो । उपत्यकाको सामान्य अवस्थामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजल खपत हुँदै आएको छ ।















प्रतिक्रिया