
म्याग्दी, २५ असोज । म्याग्दीको रुम– ७ मा ११ दशमलव ५ किलोवाट क्षमताको छेरबाङ पात्लेखोला लघुजलविद्युत् परियोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
कुल ५३ लाख ४१ हजार ३१३ को लागतमा निर्माण भएको लघुजलविद्युत् परियोजनाबाट स्थानीय ११० घरधुरी लाभान्वित भएका छन् ।
विसं २०६९ पुसदेखि निर्माण सुरु भएको आयोजनामा स्थानीयवासीले प्रतिघरधुरी २० हजार र १५० दिन बराबरको जनश्रमदान गरेको गोरक्ष निमावि रुमका प्रधानाध्यापक हेमबहादुर बुढाले जानकारी दिनुभयो ।
धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङको प्राविधिक सहयोगमा निर्माण भएको आयोजनामा धुलिखेल निर्माण सेवा जेभिआरन इन्जिनियरिङ, काठमाडौँले निर्माण जडान गरेको थियो ।
आयोजना निर्माणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २२ लाख ४२ हजार ५०० र लक्षित समुदायले थप दुई लाख ७५ हजार अनुदान उपलब्ध गराएको थियो ।
त्यस्तै आयोजनाका लागि गाविसको दुई लाख ४४ हजार, जिविसबाट रु एक लाख २० हजार, उपभोक्ताबाट १२ लाख २० हजार र डिसिआरडिसीको लघुवित्त शाखाबाट रु पाँच लाख ऋण लगानी भएको डिसिआरडिसीका सामाजिक परिचालन संयोजक नेत्र चालिसेले जानकारी दिनुभयो ।
उक्त आयोजनाको एक समारोहका बीच परीक्षण प्रसारण सुरु गरिएको छ । रासस















प्रतिक्रिया