३० आश्विन २०८३, शुक्रबार

आयो ‘वैशाख १२’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Basihakh 12काठमाडौं । भूकम्पको भोगाई अविस्मरणीय हुन्छ । पराकम्पहरु पनि नेपालीले पाँच महिनासम्म भोगिरहेकै छन् । यो इतिहासलाई लिखित दस्तावेज बनाउनु एउटा सार्थक प्रयास हुनेछ । यसै सेरोफेरोमा रहेर गोपीकृष्ण ढुंगानाले बालकथा संग्रह ‘वैशाख १२’ पाठकसामू ल्याएका छन् । २०७२ वैशाख १२ गते गएको महाभूकम्पमा भएका घटना एवं दुर्घटनाहरुलाई विषयवस्तु बनाएर तयार पारेको उक्त कृति स्वदेश प्रकाशनले बजारमा ल्याएको हो ।

भूकम्प आएपछि बालबालिकाहरु जे भए पनि भूकम्प आयो भनिरहने, केही दिनअघि देखेको काष्ठमण्डप र बसन्तपुर भत्किँदा मन भाँचिएको, भूकम्पले बस्ती नै भत्काएपछि अरुको भर पर्नु पर्ने अवस्था, घरबाट भाग्न खोज्दा बिमले किचेर खुट्टा भाँचिएको, जन्मदिनमा धरहरा हेर्न जाँदा धरहरा ढलेको, घरमा पूजाआजा हुँदा घरै ढलेर बुबाआमा र पाहुनाको निधन भए पनि बालिका बाँचेको र घर भत्किएपछि निधन भएका बुबाको काजक्रिया गर्दा लाग्ने खर्च तिर्न बालक गोठालो बसेको जस्ता विषयवस्तु वैशाख १२ मा छन् ।

सञ्चारकर्मी ढुंगानाको पाँचौं कृति वैशाख १२ मा आयो…ऊ आयो, भाँचिएको मन, आधा खुट्टो, ज्यान जोगिएको जन्मदिन, भरोसा, अब के गर्ने र दोर्चे गरी सातवटा बालकथा समेटिएका छन् ।

भत्किएको धरहरा देखाइएको कृतिको आवरण प्रज्वल थापामगरले बनाएका हुन् भने कथाका भित्रि चित्र प्रिजङ गुरुङले बताएका हुन् । अधिकांश कथाहरु सत्य घटनामा आधारित छन् भने समग्र कथाहरु बालमनोविज्ञानमा आधारित छन् । बालकथाकार ढुंगानाले वैशाख १२ गतेको भूकम्पको परिवेश चित्रण गर्दै बालबालिकालाई भूकम्पमा कसरी बच्नेसम्मका सन्देश दिएका छन् ।