काठमाडौं, २३ असोज । एमाओवादी र राप्रपा नेपालले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
दुबै पार्टीले शनिबार आ–आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्दै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेका हुन् । राप्रपाको शनिबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले राष्ट्रियता, प्रजातन्त्र, आर्थिक समृद्धि र विकासको मुद्दामा देशभक्त प्रजातान्त्रिक शक्तिहरुबीच घनीभूत एकता आवश्यक रहेको ठहर गर्दै प्रधानमन्त्रीको निर्वाचनमा ओलीलाई समर्थन गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, एमाओवादीको शनिबार विहान बसेको स्थायी समितिको बैठकले प्रमुख दलहरुबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने भद्र सहमति भएको जनाउँदै ओलीको नेतृत्वमा सहमतीय सरकार बनाउने समर्थनको निर्णय गरेको छ ।
एमाओवादीले मधेस आन्दोलनको राजनीतिक समाधानसहितको सशर्त समर्थन गर्ने प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री चयनका लागि संसद सचिवालयले उम्मेदवार दर्ता शनिबार ११ बजेदेखि ४ बजेसम्मको समय तोकेको छ । आइतबार ११ बजे संसादमा मतदान हुनेछ ।












प्रतिक्रिया