काठमाडौं, २३ असोज । प्रधानमन्त्री निर्वाचनका लागि आज दलहरूले उम्मेदवारी दर्ता गर्ने भएका छन् । बहुमतीय प्रक्रियाअनुसार नयाँ सरकार बनाउनका लागि आज मनोनयन दर्ता गरिनेछ ।
निर्वाचन कार्यतालिकाअनुसार चार बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिएको छ । साढे चार बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
नयाँ प्रधानमन्त्रीका लागि एमालेले आफ्ना अध्यक्ष केपी ओलीलाई अगाडि सारेको छ । उसले आफ्ना अध्यक्ष ओलीलाई निर्वाचित गराउन एकीकृत माओवादी र अन्य साना दलहरूको समर्थन पाएको दाबी गरेको छ ।
एमालेका नेता शंकर पोखरेलले एकीकृत माओवादी र अन्य दलहरूले अहिलेसम्म दिएको समर्थनअनुसार आफूहरू सहज बहुमतमा रहेको बताउनुभयो ।
‘कांग्रेसले पनि अन्तिम समयमा एमालेलाई समर्थन गर्छ भन्ने विश्वास छ’, उहाँले भन्नुभयो, ‘यदि कांग्रेसले समर्थन गरेन भने पनि हामी सहज बहुमतमा देखिएका छौँ ।’
उता, कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने की एमालेलाई समर्थन गर्ने भन्ने विषयमा अन्यौलमा छ । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल आकंक्षी देखिएकाले निर्णय गर्न असहज भएको एक नेताले बताए ।
पार्टी सभापति सुशील कोइराला फेरि प्रधानमन्त्री बन्नेमा इच्छुक छैनन् । तर उनलाई प्रधानमन्त्री बन्न आफ्ना समूहका केही नेताहरूको दबाव छ । देउवा र पौडेलबीच विवाद भएपछि कोइरालाले आफूलाई नै अगाडि बढाउने हुन् की भन्ने एकथरिको अनुमान छ ।
यसै क्रममा अहिले केही समयपछि बालुवाटारमा कोइराला, देउवा र पौडेलबीच छलफल हुँदैछ । कसरी जाने भन्ने विषयमा निर्णय गर्ने एक नेताले बताए ।
प्रकाशित सूचनाअनुसार आज बिहान संसद् भवन नयाँबानेश्वरमा ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीका उम्मेद्वारी दर्ता गराउने समयसीमा तोकिएको छ । एक जना प्रस्तावक र समर्थकले समर्थन गरेको प्रस्ताव र म प्रधानमन्त्रीमा निर्वाचित भए यी काम गर्न राजी छु भन्ने व्यहोराका आवेदनमा उम्मेदवारले हस्ताक्षर गर्नुपर्नेछ ।
आवेदन दर्ता भएपछि आजै साढे चार बजे सचिवालयले दर्ता भएको प्रस्तावको अन्तिम सूची प्रकाशित गर्ने व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
यस्तै आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा प्रवेश गर्नेछ ।
राष्ट्रपति डा रामवरण यादवले सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न दिनुभएको समयसीमा बिहीबार सकिएपछि आजबाट बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढेको हो ।
संविधानको धारा २९८ मा भएको सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्को बैठक आह्वान भएको सात दिनभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्ने व्यवस्था रहेको छ ।
सात दिनभित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन नभएको अवस्थामा बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्रीको चयन हुने प्रावधान रहेको छ ।
यस्तै अधिवेशन आह्वान भएको अवस्थामा २० दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा २९९ मा रहेको छ । सदनमा रहेको बहुमत सदस्य सङ्ख्याले ती दुई पद चयन गरिनेछ । सभामुख र उपसभामुख अलगअलग राजनीतिक दल प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
त्यस्तै सदनको बैठक चालु रहेको अवस्थामा एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्ने प्रावधान संविधानको धारा २९७ मा रहेको छ ।












प्रतिक्रिया