काठमाडौं, २२ असोज । सदभावनाका पार्टीका अध्यक्ष राजेन्द्र महतो घरमा तोडफोड भएको छ ।
विहीबार केही युवाहरुले राजधानीमा रहेको महतो घरमा आक्रमण गरेको मधेसी मोर्चाका नेता तथा पूर्व सभासद विपी यादवले दैनिक नेपाललाई जानकारी दिए । उनले भने- ‘केही युवाहरु आएर हाम्रा नेताको घरमा तोडफोड गरेका छन्, आक्रमणबाट घरको सीसा फुटेको छ, समयमै प्रहरी आउँदा धेरै क्षति भएन् ।’
यादव तमलोपाबाट अघिल्लो संविधान सभाका सदस्य थिए । उनले विहीबार विहानै महतोको घरमा तोडफोडको प्रयास भएको बताए । तर, काठमाडौंका एसएसपी उत्तम कार्कीले महतोको घरमा कुनै तोडफोड नभएको बताए । कार्कीले भने- ‘केही युवाहरु प्रदर्शनमा उत्रिएपनि तोडफोड गर्न नदिएर प्रहरीले सम्झाएर पठाएको हो, तोडफोड भएको छैन् ।’
महतोको घर तोडफोड गर्न गएका युवाहरुले भारतीय भुमिबाट बसेर मधेसी मोर्चाका कार्यकर्ताले नेपालीमाथि धारिलो हतियारले आक्रमण गरी मार्न खोजेकाले त्यसका विरुद्ध उत्रिएको बताएका छन् । ‘निर्दोष नेपाली नागरिकलाई पहाडिया भन्दै भारतीय भुमिबाट राजेन्द्र महतोको निर्देशनमा भएको आक्रमणविरुद्ध हामी सडकमा उत्रिएका हौं ।’ एक युवा रविन भट्टराईले दैनिक नेपाललाई बताए ।

मंगलबार रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाको कमाण्ड सम्हालेका महतोले भारतीय भुमिबाटै पहाडियालाई भौतिक कारवाही गर्न मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका थिए । उनको निर्देशनपछि भारतीय बजार सुनौलीबाट फर्किदै गरेका नेपाली कृष्ण विष्ट क्षेत्रीलाई बेलहियाको दसगजा क्षेत्रमा धारिलो हतियारले काटेर फालेका थिए । उनलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो ।
यसैबीच भैरहवाको बेलहिया नाकामा आन्दोलन प्रभावकारी नभएपछि महतो विहीबारै भारतीय भुमिबाट नेपालगञ्ज पुगेका छन् । महतो आएपछि जिल्लामा सुरक्षा ब्यवस्था कडा पारिएको बाँके प्रहरीले जनाएको छ ।















प्रतिक्रिया