२४ कार्तिक २०८३, मंगलबार

ओलीलाई रोक्न कांग्रेसले मिति सारेको सार्‍यै, आफै प्रधानमन्त्री बन्ने दाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli-VS-Sushil-Koiralaकाठमाडौं, २० असोज । सोमबारदेखि बसिरहेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले बुधबारको बैठकसम्म पनि राष्ट्रिय सरकारको बारेमा कुनै छलफल र निर्णय गरिसकेको छैन् ।

राष्ट्रपति रामवरण यादवबाट एक हप्ताभित्र नयाँ सरकार गठनका लागि आह्वान भएको दोस्रो दिनमै नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारमा घोषणा गरिसकेको छ ।

दलहरुबीच भएको १६ बुँदे भ्रद सहमति अनुसार संविधान निर्माण पछि सरकारको नेतृत्व एमालेलाई नै दिनुपर्ने सहमति भएको कुरा पनि प्रष्ट भइसकेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रष्ट पारिसकेका छन् । तर, यतिबेला प्रमुख दल कांग्रेस भने अलमलमा छ ।

कांग्रेसका सभापति तथा अहिलेका प्रधानमन्त्री सुशील कोइराला भद्र सहमतिबारे एक शब्द बोलेका छैनन् भने, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सहमति नभएको दाबी गर्दै आएका छन् । पाँच वर्षसम्म महाधिवेशन गर्न नसकिरहेको कांग्रेसले महाधिवेशन मिति टुंग्याउने र नयाँ सरकारबारे टुङ्गो लगाउन तीन वटा बैठक बोलाइसकेको छ । तर, कुनै बैठकमा पनि नयाँ सरकारबारे निर्णय भएको छैन् ।

नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडूले बुधबारको बैठकले महाधिवेशनको मिति टुङ्गो लगाएको बताए । तर, नयाँ सरकारबारे अर्काे बैठकमा निर्णय हुने जनाए । तीन वटा बैठकमा सरकारबारे किन निर्णय भएन् प्रश्नमा उनले आन्तरिक छलफल नसकिएकाले निर्णय आउन बाँकी रहेको बताए ।

तर, कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले अझै आफै प्रधानमन्त्री बन्ने वा वरिष्ठ नेता देउवा र उपसभापति पौडेलमध्ये एउटालाई नेतृत्व दिने मनस्थितीमा छन् । कांग्रेसमा केही नेता भने एमालेको नेतृत्वलाई नै समर्थन गर्नुपर्ने पक्षमा छन् ।

पछिल्लो समय कांग्रेस सभापति कोइरालाका साथै वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई पनि प्रधानमन्त्रीका आकांक्षीका रुपमा हेरिएको छ ।

कांग्रेसका एक नेताका अनुसार सकभर सरकारको नेतृत्व आफै लिने अडानमा नेताहरु छन् । तर, यसबारेमा सभापति कोइराला केही बोलेका छैनन् । कांग्रेसले निर्णयमा ढिलाइ गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न नदिने उद्देश्य पनि रहेको ती नेताको दाबी छ । तर, सहमति नभए प्रधानमन्त्री बन्न ओलीसँग स्पष्ट बहुमत रहेको बताइन्छ ।

सहमति अथवा बहुमतीय प्रक्रिया अनुसार यही असोज २४ गते नयाँ सरकार गठन गर्नुपर्ने गरी राष्ट्रपतिले आह्वान गरिसकेका छन् ।