११ कार्तिक २०८३, बुधबार

पशुपतिले किन भने ?, ‘म आधिकारिक हुँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rpp Chand & Ranaकाठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका विषयमा निर्वाचन आयोगले पत्रकाटेपछि संस्थापन समूहको दाबी गर्ने अध्यक्ष पशुपतिशम्शेर राणाले लिखित जवाफ पठाउनुभएको छ ।

अध्यक्ष राणाले सोमबार आयोगलाई पत्र पठाइ राप्रपाको बहुमत सदस्य र सांसद आफूसँगै रहेको दाबी गर्नुभएको हो । उहाँले अहिले रहेको १ सय १ सदस्यीय कार्यसमितिमा आफूसँग ८३ जना केन्द्रीय सदस्य रहेको दाबीसहितको जवाफ पठाउनु भएको स्रोतले जनाएको छ ।
राणाले कारबाही गरेका १६ जना केन्द्रीय सदस्यको नाम भने आयोगलाई पठाउनु भएको छैन ।

राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले केन्द्रीय सदस्य सुनिलबहादुर थापाको सहयोगमा बहुमत सदस्यको समर्थनमा आफूलाई अध्यक्ष घोषणा गर्नुभएपछि बिवाद निर्वाचन आयोगमा पुगेको थियो ।

चन्द समूहले भदौ २० गते ११ बजे आयोगलाई लिखित जानकारी दिइ एक बजे दरबारमार्गको पाँच तारे होटेलमा पत्रकार सम्मेलन गरेर लोकेन्द्रबहादुर चन्द राप्रपाको अध्यक्ष भएको घोषणा गरेको थियो ।

सो घोषणापछि आयोगले पत्र पठाइ पशुपतिशम्शेरसँग केन्द्रीय समितिको बारेमा जानकारी माग गरेको थियो । आयोगको पत्रअनुसार भदौ १५ गतेसम्मको केन्द्रीय सदस्य को को हुन् ? एक साताभित्र लिखित जानकारी दिन भनि पत्र काटेको थियो । राणाले त्यसको जवाफ सोमबार पत्र पठाएर दिएका छन् ।

उता, चन्दले राप्रपा कब्जा गरेपछि आत्तिएका राणाले भदौ १८ गतेको मिति राखेर भदौ २० गते १६ जना मनोनीत केन्द्रीयलाई कारबाही गरी पार्टीबाट निष्कासित गर्नुभएको थियो । तर निर्वाचन आयोगले भदौ १५ गतेसम्मको केन्द्रीय कार्यसमितिको सूची मागेपछि राणा चकित पर्नुभएको छ । आयोगले भदौ १५ गतेभन्दा पछाडिको राप्रपाका सांगठनिक निर्णय वा गतिविधिलाई मान्यता दिएको छैन । योसँगै राणाको कारबाहीको कुनै महत्व नरहने एक सदस्यले बताए ।

यसअघि यस्तै प्रकृतिको मुद्दामा निर्वाचन आयोगले सूर्यबहादुर थापालाई राप्रपाको आधिकारिकता दिएकाले बहुमतबाट स्वघोषित अध्यक्ष बन्नु भएका लोकेन्द्रबहादुरले आधिकारिकता पाउने कानुनका जानकारहरुले दाबी गरेका छन् । राणा समूहको कारबाहीको तीन दिन पहिलाको मितिको जानकारी आयोगले माग गरेपछि चन्द समूहले आधिकारिकता पाउने निश्चित रहेको दाबी गरिएको छ ।

निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादव काम विशेषले बाहिर रहेकाले राप्रपाको आधिकारिकताको निर्णयमा ढिलाइ भएको हो । पूर्व नजिरअनुसार चन्द समूहले राप्रपाको झण्डा र चुनाव चिन्ह हलोसहितको आधिकारिकता पाउने निश्चित रहेको कानुन व्यवसायीहरुले बताएका छन् ।

राणाले भदौ १६ मा क–कसलाई कारबाही गरे ?

राणाले भदौ १८ गतेको मिति राखेर भदौ २० गते मनोनीत १६ केन्द्रीय सदस्यलाई कारबाही गर्नुभएको थियो । पार्टी विधानअनुसार मनोनीत उनीहरुलाई राणाले आफ्नो अधिकार प्रयोग गरेर कारबाही गर्नुभएको हो । कारबाहीमा पर्नेहरुमा किरण गिरी, नवराज सुवेदी, हरिबहादुर बस्नेत, नीलकण्ठ काफ्ले, जगतबहादुर थापा, शिवराम थापा, बालाराम घर्तीमगर, नन्दलाल चटौत, मोहन थापा, इन्द्रप्रसाद ढुङ्गेल, गिरिधरलाल परियार, रामकृष्ण भट्टराई, सूर्यबहादुर केसी, भरतजंग उप्रेती, भीमा यादव र बाबुराम बस्नेत रहेका छन् ।

राप्रपाको विधानअनुसार केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई मनोनीत वा निर्वाचित जोसुकै भएपनि कारबाही गर्ने अधिकार केन्द्रीय कार्यसमितिको पूर्ण बैठकलाई मात्रै छ । राणाको कारबाहीमा कुनै कानुनी र बैधानिक आधार नभएको सहप्रवक्ता किरण गिरीले बताउुनभएको छ ।

राप्रपाका सांसदहरु को कता ?

राप्रपाका १३ जना सांसद छन् । त्यसमध्य सूर्यबहादुर थापाको निधन भएपछि एउटा सांसद पद खाली छ । राप्रपा विभाजन भएपछि चन्दतर्फ खुलेर सात सांसद लागेका छन् । यो समूहमा खुलेर लाग्नेहरुमा सुनिलबहादुर थापा, बिक्रम पाण्डे, जयन्त चन्द, राज्यलक्ष्मी श्रेष्ठ, गीता सिंह, आनन्दी देवी पन्त र सरोज शर्मा रहेका छन् ।

उता, राजनीतिका माहिर खेलाडी संसदीय दलका नेता दीपक बोहराले आफ्नो पत्ता खोल्नु भएको छैन । बोहराले पर्ख र हेरको नीति लिनु भएको छ । बोहराले केही सांसदहरुलाई होल्ड गरेर बसेको स्रोतको दाबी छ । आयोगको निर्णय कुरेर बसेका बोहरा राप्रपाको आधिकारिक पक्ष जता हुन्छ त्यतै जाने संकेत दिएका छन् ।

हुन त चन्द समूहले बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ । चन्द समूहका सहप्रवक्ता गिरीले बहुमत केन्द्रीय सदस्य र सांसदहरु आफूहरुसँग रहेको बताउनुभयो । गिरीले निर्वाचन आयोगमा आफूहरुले सबै प्रमाण पुराएर राप्रपामा दाबी गरेकाले पूर्व नजिरअनुसार आधिकारिकता चन्द समूहले पाउने निश्चित रहेको दाबी गर्नुभएको छ ।