काठमाडौं, ११ असार । एमाले नेतृ सहाना प्रधान २० दिनदेखि बेहोस अवस्थामा छिन् । उनको बल्खुस्थित बयोदा अस्पतालमा उपचार भइरहेको छ । २० दिनअघि फोक्सोमा निमोनिया र मस्तिष्कघातका कारण बेहोस भएकी उनको अझै होस खुल्न नसकेको चिकित्सकहरूले बताएका छन् ।
तीन वर्षदेखि ओछ्यानमै थला परेकी प्रधान अचानक श्वासरप्रश्वासमा समस्या आएपछि बेहोस भएकी थिइन् । उनलाई १५ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
‘भेन्टिलेटरबाट बाहिर राखे पनि फोक्सोमा भएको निमोनियामा संक्रमण देखिइरहेका कारण मुख र नाकबाट श्वास फेर्न सक्नुभएको छैन,’ उपचारमा संलग्न डाक्टर विनोद कार्कीले भने, ‘उहाँले घाँटीमा पारेको प्वालबाट सास फेरिरहनुभएको छ ।’ उनका अनुसार लामो समय भेन्टिलेटरमा राख्नु परेपछि श्वास फेर्न प्रधानको घाँटीमा प्वाल पार्नु परेको हो । विशेष ध्यानमा राखेर उपचार गर्दासमेत अझै होस खुलेको छैन ।
‘अहिले नै उहाँको स्वास्थ्य अवस्थाबारे केही भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘निरन्तर प्रयास गरिरहँदा पनि उहाँको फोक्सोमा देखिएको संक्रमण ठीक पार्न सकिएको छैन । एन्टिवायोटिक दिइरहेका छौं ।’ उनलाई नाकबाट पाइप छिराएर खाना खुवाउने गरिएको छ । १९८४ असार ३ मा जन्मिएकी प्रधान तीन वर्षदेखि थला परेकी हुन् ।
कम्युनिस्ट आन्दोलनमा लागेकी प्रधान शरीरले सकुन्जेल एमालेको राजनीतिमा सक्रिय थिइन् । सानै छँदा बाबुको साथमा बर्मा गएकी प्रधान कक्षा सात पूरा गरी २००० सालमा नेपाल फर्किएर राणाविरोधी आन्दोलनमा लागेकी थिइन् । २००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार महिला कार्यकर्तामध्ये उनी एक हुन् ।
२००९ सालमा उनको विवाह कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग भएको हो । ०४६ सालको जनआन्दोलनमा वाममोर्चाको अध्यक्ष रहेकी प्रधान त्यसपछिको अन्तरिम सरकारमा उद्योग र वाणिज्यमन्त्री, ०४८ र ०५१ को संसदो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ र ६ बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य हुन् । बीचमा महिला तथा समाजकल्याणमन्त्री पनि बनेकी उनी ०६२र०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा परराष्ट्रमन्त्री थिइन् । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया