काठमाडौं, १७ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्ता गर्नका लागि चार सदस्यीय वार्ता टोली गठन गरेको छ ।
काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा आज (आइतबार) बेलुका बसेको मधेसी मोर्चाको बैठकले आन्दोलनको कार्यक्रमलाई यथावत राख्दै सरकारसँग वार्ता अगाडि बढाउने निर्णय गरेको हो ।
सद्भावना पार्टीका महासचिव मनीष समुनका अनुसार मधेसी मोर्चाले वार्ता, सम्वाद र आन्दोलनलाई एकसाथ अगाडि बढाउने निर्णय गरेको बताउनुभयो ।
वार्ताका लागि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउत, तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव शर्बेन्द्रनाथ शुक्ला र तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश यादवलाई जिम्मेवारी तोकिएको सुमनले बताउनुभयो ।
चार सदस्यीय वार्ता टोलीले सरकारी पक्षसँग आफूहरुले अघि सारेका माग कार्यान्वयनमा जोड दिनेछ । सोही टोलीको सुझाव र सहमतिमा मधेसी मोर्चाले आफ्नो आन्दोलनलाई पनि अगाडि बढाउनेछ ।
मधेसी मोर्चाले आफ्नो नाकाबन्दी र आमहड्तालको कार्यक्रमलाई यथावत राख्ने निर्णय गरेको महासचिव समुनले बताउनुभयो । उहाँले आन्दोलनका कार्यक्रमलाई थप शसक्त बनाउने निर्णय भएको उल्लेख गर्नुभयो ।
मधेसी मोर्चाले गरेको नाकाबन्दी र भारतीय पक्षको सहयोगका कारण मुलुकभरिको जनजीवन अस्तव्यस्त बनेको छ । मधेसी मोर्चालाई नाकाबन्दीको कार्यक्रम फिर्ता लिन चौतर्फी दबाव पर्दै आएको छ ।
मधेसी मोर्चाको बैठकमा उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र महेयन्द्र राय यादवको सहभागिता रहेको थियो । बैठकमा दोस्रो तहका नेताहरु पनि थिए । तर बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने अनुपस्थित हुनुहुन्थ्यो ।













प्रतिक्रिया