काठमाडौं, १७ असोज । एमाओवादी परित्याग गरेर देशदौडाहमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही नेताले आफूलाई मार्ने योजना बनाएको खुलासा गर्नुभएको छ ।
आइतबार नवलपरासी पुगेका भट्टराईले नेपाल औद्योगिक स्वतन्त्र मजदुर युनियनले दुम्कौलीमा आयोजना गरेको एक समारोहमा बोल्दै द्वन्द्वकालमा राजतन्त्र नजिक रहेका माओवादी पार्टीकै नेताहरुले आफूलाई मार्ने योजना बनाएको खुलासा गर्नुभएको हो ।
उहाँले भूमिगतकालमा आफ्नै सेनाको नजरबन्दमा राखी मलाई सिद्याउन पार्टीले नेताले हरसम्भव प्रयत्न गरेको आरोप लगाउनुभयो । तर, उहाँले नेताको नाम भने खुलाउनुभएन । उहाँले भन्नुभयो- ‘त्यसबेला केही नेताहरुको राजतन्त्रसँग साँठगाँठ थियो । त्यसको विरोध गर्दा मलाई जिउँदै खाल्डोमा हालेर मार्ने योजना बनाइयो ।’
संविधानसभाबाट संविधान निर्माण गर्ने आफ्नो एजेण्डा भएको बताउँदै भट्टराईले अहिले आएर आफूलाई त्यसको विरोधी बनाइएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो- ‘संविधानसभाबाट संविधान मेरै कारणले बनेको हो, यो प्रक्रियामा म धेरै खुसी छु, तर केही साथीहरुलाई समावेश गराउन सकिएन् त्यसमा म दुःखी छु ।’












प्रतिक्रिया