काठमाडौं, १७ असोज । संविधानमा असन्तुष्टि जनाउँदै आएको भारतले विगतदेखि ११ दिनदेखि नेपालसँग जोडिएका नाकामा अघोषित नाकाबन्दी लगाइरहेको छ ।
नाकाबन्दीले राजधानी काठमाडौं लगायत देशैभरीको हाहाकार मच्चिएको छ । शनिबार रातिदेखि नाकाबन्दी हटाएको जनाएपछि सीमा नाकामा भारतको अवरोध कायमै छ । नाकाबन्दीको बीचमै अर्काे छिमेकी देश चीनसँग जोडिएका नाका खोलेर व्यापार विस्तार गर्न आवाज पनि उठिरहेका छन् । सरकारको असयोगका बाबजुद पनि उत्तरी क्षेत्रको चीनसँग जोडिएको तातोपानी नाका खुलेको छ । तर, सरकारले चीनबाट आपूर्ति गर्न पहल गरिरहेको छैन् ।
तातोपानी तैनाथ चिनियाँ अधिकारी र सुरक्षाकर्मीहरुले आफूहरु नेपाल आपूर्ति गर्न तयारी अवस्थामा रहेको तर त्यसका लागि नेपाल सरकारले चिनियाँ सरकारसँग पहल गर्नुपर्ने बताइरहेका छन् । यद्यपी पहिरोले अवरुद्ध तातोपानीदेखि काठमाडौंसम्म जोड्ने कोदारी सडक भने शुक्रबार राति देखि नै खुलेको थियो ।
तातोपानी नाका जोड्ने सडक सूचारु भएपछि नेपालले चीनसँग व्यापार बढाउने डरले भारतले शनिबार राति नै नाकाबन्दी हटाउन मातहतका अधिकारीलाई निर्देशन दियो । साथै नेपाललाई चीनबाट कुनै वस्तु नल्याउन दबाब दिएको स्रोतको दाबी छ । तर, भारतले आपूर्ति गर्न नाकामा आनाकानी गरिरहेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दिल्लीले चीनसँगको व्यापार विस्तारमा चुप लागेर बस्ने शर्तमा नेपालले ‘हुन्छ’ भनेपछि नाकाबन्दी खोल्न सहमत भएको बताइएको छ ।
त्यस्तै, चीन सरकारले पेट्रोलियम पदार्थ समेत नेपाल पठाउन सकिने र त्यसका लागि नेपालबाट भरपर्दाे प्रस्ताव आउनुपर्ने बताइरहेको छ । छिमेकीलाई जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको चिनियाँ राष्ट्रपति सि जिनपिङले जनाइसकेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत वु छुन्ताईले पनि आफूहरुलाई नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको तर, त्यसका लागि नेपालले ठास पहल गर्नुपर्छ भन्दै आएका छन् । चीनको यस्तो प्रस्ताव आएपछि नेपाल आयल निगमले सरकारलाई पहल गर्न आग्रह गरेपनि अस्वीकार गरेको खुलासा भएको छ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले छिमेकी चीनबाट इन्धन ल्याउन अनुमति माग्दा सरकारले नदिँएको खुलासा गर्नुभएको हो । उहाँले सहज रूपमा व्यापार हुने ठाउँबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्नेमा समेत जोड दिनुभयो ।
सरकारले छिमेकी देश चीनबाट इन्धन ल्याउन अनुमति नदिँदा अहिले असहज अवस्था आएको उहाँको विश्लेषण छ । उहाँले भन्नुभयो- ‘अघोषित नाकाबन्दीलगत्तै चीनबाट इन्धन आयात गर्नुपर्ने प्रस्ताव सरकारले मानेन । भारतको मात्रै भर पर्दा आपूर्ति असहज हुने भएकाले चीनबाट ल्याउन पटकपटक अनुमति माग्दा पनि सरकारले दिएन ।’
निगमले दशकौंदेखि भारतीय आयल कर्पोरेसनसँग कारोबार गर्दै आएपनि बारम्बार असहज अवस्था सिर्जना हुँदै आएको प्रबन्ध निर्देशक खड्काको गुनासो थियो । इन्धन आयातमा तत्कालै विकल्प खोज्नुपर्ने अन्यथा झन भयाभव अवस्था सिर्जना हुने उहाँको भनाई थियो ।












प्रतिक्रिया