काठमाडौं, १७ असोज । उद्योग मन्त्री महेश बस्नेतले सत्ता समीकरणको नाममा ठूला तीन दलबीचको एकता फुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
गृह जिल्ला भक्तपुरमा अयोजित एक समारोहमा बोल्दै उहाँले तीन दलको एकता लामो समयसम्म जानुपर्ने बताउनुभएको हो ।
तीन दलका शीर्ष नेताहरुको एकताले नै संविधान जारी भएको चर्चा गर्दै उहाँले संविधानलाई कार्यान्वयनमा ल्याउनसमेत तीन दलीय एकता कायम हुनुपर्नेमा जोड दिनुभयो ।
नयाँ सरकारको ढोका खोल्दा तीन दलीय एकतामा टुट्ने हो कि भन्ने आशङ्का पैदा भइसकेको बताउँदै उहाँले अहिलेसम्मको सहकार्य पनि यतिखेर कठिन मोडमा पुगेको बताउनुभयो ।
“एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन कोही विचलित हुनुहुँदैन, ओलीलाई सहमति सरकारको प्रधानमन्त्रीको प्रस्ताव प्रधानमन्त्री सुशील कोइरालाले नै गर्दा उहाँको उच्च मूल्याङ्कन हुन्छ”–मन्त्री बस्नेतले भन्नुभयो–“प्रधानमन्त्रीले हिजो राजीनामा नदिँदा पनि धेरै आशङ्काहरु पैदा भएको छ, तर पनि नयाँ सरकारको ढोका खुलिसकेको छ ।”
देशमा संविधान जारी हुन नसकेको भए अहिलेको भन्दा पनि ठूलो सङ्कट आउन सक्ने बताउँदै देशलाई एक ढिक्का बनाएर लैजान तीन दलीय एकता र सहमतिलाई अझ मजबुद बनाएर लैजानुपर्ने उहाँले धारणा राख्नुभयो ।












प्रतिक्रिया