काठमाडौं, १६ असोज । काठमाडौंको गोकर्णमा निर्माणाधिन राष्ट्रिय सहिद पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले आफू विरुद्धका सूचना बाहिर ल्याइदिएको भन्दै समितिका तीन जनासँग स्पष्टिकरण साधेका छन् ।
सिग्देलको भूमिका र काम गराई प्रति प्रश्न उठाउँदै अन्य सञ्चार माध्यामले पनि समाचार छापेका थिए ।
अध्यक्ष सिग्देलले आफ्नो बदनाम गराउन खोजेको भन्दै व्यवस्थापन समितिका सदस्यहरु राजेन्द्र गौतम, किरण केसी र प्रकाशमणी पोख्रेललाई पत्र काटेर स्पष्टिकरण लिएका हुन् । केही सञ्चार माध्यममा आफू विरुद्धको समाचार आएको भन्दै सिग्देलले सदस्य सचिव गोविन्द बहादुर श्रेष्ठ मार्फत पत्र पठाई उपस्थित भएर स्पष्टिकरण दिन उर्दि जारी गरेका थिए ।
काठमाडौंको यज्ञडोल (जगडोल) सामुदायिक वन गोकर्णमा करिब ४४ करोडको लगानीमा निर्माण हुन लागेको उक्त परियोजना पार्क निर्माण कार्यदल कार्यसम्पादन समितिको लापरबाही र कमाउधन्दाकै कारण अलपत्र परेको उपभोक्ताले गुनासो गर्ने गरेका छन् ।
उपभोक्ताले स्टेरिङ कमिटिमा रहेका अध्यक्ष सिग्देल, कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठ, सदस्य सचिव गोविन्द बहादुर श्रेष्ठको मिलेमतोमा लाखौं रुपैयाँको घोटला गरेको र काम पनि अघि बढ्न नसकेको बताएका छन् ।
व्यवस्थापन समितिका एक सदस्यले भने- ‘भ्रष्टाचारका लागि प्रमाण जुराउँदै छौं, प्रमाण जुराए पछि अख्तियार जाने तयारी गरिरहेका छौं ।’
सिग्देलले पार्क निर्माणका क्रममा बनाएको पर्खालका नाममा रकम कुम्ल्याएको स्थानीयको आरोप छ । पार्कको पर्खालमध्ये झण्डै २ सय ५० मिटर तार कम्पाउण्ड निर्माण गरेका छन् । तर, त्यो वालको हिसाब मिलान भने उनले पक्की वालको गरेको स्रोतको दावी छ ।
तर सिग्देलले भने सबै ठेक्का पट्ठाको काम मन्त्रालयबाटै हुने भन्दै आफूले अनियमित काम नगरेको र आफूले तलव मात्र खाले गरेको दावी गरेका छन् । सिग्देलले नेपाल सरकारबाट विशिष्ट श्रेणीको तलब–भत्ता र सेवा–सुविधा पाउँदै आएका छन् ।
तीन जनासँग स्पष्टिकरण लिएपछि अध्यक्ष सिग्देल र कोषाध्यक्ष श्रेष्ठले बाहिर आएको समाचारमा सत्यता नभएको दावी सहित निर्णय शान्ति मन्त्रालयमा पठाएर फकाउने तयारी गरेको स्रोतको दावी छ ।
















प्रतिक्रिया